वीरगन्ज-
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल नाम सिफारिस भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिलकुमार रुङ्गटाले राजनीतिक गतिविधि तीव्र पारेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका संविधानसभा सदस्य रुङ्गटाले पार्टीका क्षेत्रदेखि वडा तहसम्मका नेता–कार्यकर्तासँग भेटघाट तथा छलफललाई तीव्रता दिएका हुन्।
यसैक्रममा सोमबार संविधानसभा सदस्य रुङ्गटाले वीरगन्ज महानगरपालिका वडा नं. ३० स्थित प्रसोतिपुरमा नेपाली कांग्रेसका नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका विषयमा छलफल गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने वातावरण निर्माणका विषयमा छलफल गर्न संविधानसभा सदस्य रुङ्गटासहितका नेताहरू प्रसोतिपुरमा भेला भएका थिए।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल सिंहले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका बुथ तहका नेता–कार्यकर्तासँग भेटघाट गरी आवश्यक छलफल गरिएको जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, जिल्ला कार्यसमिति सदस्य रामनिवास, वडा नं. ३० का नेपाली कांग्रेस बुथ सभापति अली हुसैन, महाधिवेशन प्रतिनिधि फिरोज खाँ, युवा नेता कञ्चन झा, शेष हजार, विकास भण्डललगायतको उपस्थिति रहेको थियो।















