वीरगन्ज-
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार (आज) बिहान सूचना जारी गर्दै वीरगन्जका केही क्षेत्रमा लगाइएको कर्फ्यु आदेश दिउँसो १ बजेसम्मका लागि थप गरेको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार (हिजो) जारी गरिएको कर्फ्यु आदेशको अवधि मंगलबार बिहान ८ बजेसम्म तोकिएकोमा थप ५ घण्टा समयावधि बढाइएको जानकारी दिनुभएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्जका केही क्षेत्रहरूमा पाँच घण्टाका लागि कर्फ्यु विस्तार गरिएको प्रजिअ दाहालले बताउनुभयो। बिग्रँदै गएको नगर क्षेत्रको सुरक्षा अवस्था नियन्त्रणमा लिई नागरिकको ज्यानधन तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
कर्फ्यु लागू हुने क्षेत्रअन्तर्गत पूर्वमा नयाँ बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया खोला, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्र पर्दछ। सो क्षेत्रमा भेला, जुलुस, सभा तथा कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको सूचनामा उल्लेख छ।
कर्फ्युको समयमा आदेश उल्लङ्घन गरेमा सुरक्षाकर्मीले कडा कदम चाल्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन प्रशासनले वीरगन्जवासीलाई अपिल गरेको छ। अत्यावश्यक अवस्थामा बाहिर निस्किनुपरे नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा फोन गरी आवश्यक समन्वय गरेर मात्र बाहिर निस्कन अनुरोध गरिएको छ।
कर्फ्यु अवधिभर एम्बुलेन्स, स्वास्थ्यकर्मी, दमकल, पर्यटक, औषधि तथा खाद्यान्न बोकेका सवारी साधनलाई आवत–जावतको अनुमति दिइएको छ। त्यसैगरी सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा उनीहरूले प्रयोग गर्ने सवारी साधनलाई पनि आवत–जावत गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।















