वीरगन्ज-
जमीअत उलमार्-ए-नेपालले वीरगन्जमा हालै घटेको घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै सबै पक्षलाई आपसी सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न हार्दिक अपील गरेको छ।
संस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश भएको स्मरण गराएको छ। शताब्दीऔँदेखि यहाँ हिन्दू, मुस्लिमलगायत सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचारा कायम रहँदै आएको र वीरगञ्ज क्षेत्र पनि त्यसको सुन्दर उदाहरण रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ:
“यस्तो अवस्थामा कुनै पनि घटनालाई लिएर आवेग, उत्तेजना वा भ्रमको आधारमा प्रतिक्रिया नजनाई, संयम, धैर्य र समझदारी अपनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो।”
जमीअत उलमार्-ए-नेपालका सह-अध्यक्ष मौलाना अलि असगर मदनीद्वारा हस्ताक्षरित उक्त अपीलमा दुवै समुदायका धर्मगुरु, समाजसेवी, युवावर्ग तथा सर्वसाधारण सबैलाई शान्ति, सद्भाव र भाइचारालाई मजबुत बनाउने दिशामा अग्रसर हुन आग्रह गरिएको छ। संस्थाले यस घटनाबाट प्रभावित भएका सबैप्रति सहानुभूति समेत प्रकट गरेको छ।















