वीरगन्ज-
विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन र तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहरमा शान्ति सुव्यवस्था कायम गर्न विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मगलवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सामाजिक र धार्मिक सद्भाव खलबलिन नदिन र भविष्यमा हुने विवाद न्यूनीकरण गर्न ५ बुँदे सहमति गरेको हो।
बैठकले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा कुनै पनि किसिमको प्रदर्शन नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अब उप्रान्त कुनै पनि विषयमा असन्तुष्टि भएमा पीडित पक्षले सुरुमा प्रमुख जिल्ला अधिकारी (CDO) बाट अनुमति लिई ज्ञापनपत्र बुझाउनुपर्ने र त्यसपछि मात्र अन्य कार्यक्रमहरू तय गरिने सहमति भएको छ।
स्थायी सद्भाव संयन्त्रको घोषणा
धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि नियन्त्रण गर्न जिल्लामा एउटा ‘स्थायी सद्भाव संयन्त्र’ गठन गरिएको छ। यस संयन्त्रमा विभिन्न क्षेत्रका प्रतिनिधिहरू रहनेछन्:
* धार्मिक समुदायबाट: हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह तथा मुस्लिम समुदायका तर्फबाट मोहम्मद महबुब अलि (शेरु) र अलि असगर मदनी। आवश्यकता अनुसार अन्य धर्मका प्रतिनिधि पनि थपिनेछन्।
* राजनैतिक र नागरिक क्षेत्र: क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि।
बैठकले सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा धार्मिक र सांस्कृतिक सद्भावमा आँच नआउने गरी जिम्मेवार बन्न आग्रह गरेको छ। साथै, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सद्भाव बिथोल्न उक्साउने समूह वा व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय भएको छ।
बैठकमा सहभागी सबै पक्षले आफ्ना समुदायका व्यक्तिहरूलाई अनुशासन र आत्मसंयम कायम राख्न अपिल गर्ने र आजको यस निर्णयलाई सबै संस्थाका आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरी ऐक्यबद्धता जनाउने निर्णय समेत गरेका छन्।















