२०८२ पुष २४ गते, बिहीबार १७:०९

हरि खेतानमा ‘पारिवारिक सिन्डिकेट’: नियम मिचेर आसेपासे भर्ती, सामुदायिक क्याम्पस सिध्याउने खेल

वीरगन्ज-

मधेसकै प्रतिष्ठित शैक्षिक धरोहर मानिने हरि खेतान बहुमुखी क्याम्पस यतिबेला व्यवस्थापन समितिको ‘निजी अखडा’ बनेको छ। क्याम्पसको विधान नै परिवर्तन गरेर यसलाई निजीकरण गर्न खोजिएको र नियमविपरीत आफ्ना मान्छे भर्ती गरिएको भन्दै बुधबार विद्यार्थी र कर्मचारीहरूले क्याम्पस प्रशासनविरुद्ध उग्र प्रदर्शन गरेका छन्।

‘पत्रकार’ को मुकुण्डोमा प्रशासन प्रमुखको आतंक व्यवस्थापन समितिले सुस्मिता यादव र अञ्जली श्रेष्ठलाई गैरकानुनी रूपमा नियुक्ति दिएको विषयले अहिले उग्र रूप लिएको छ। विशेषगरी, पत्रकारिताको आवरणमा आएका व्यक्तिलाई प्रशासन प्रमुखको जिम्मेवारी दिएर विद्यार्थीमाथि मानसिक दबाब दिने गरिएको पाइएको छ।

आन्दोलनरत विद्यार्थीहरू भन्छन्, “प्रशासन प्रमुखको नाममा आएका व्यक्ति हातमा क्यामरा लिएर कक्षाकोठामा छिर्छन् र पढ्ने वातावरण बिगार्छन्। यो शैक्षिक संस्था हो कि कुनै मिडिया हाउस? यदि उनी पत्रकार हुन् भने सडकमा गएर समाचार लेखून्, क्याम्पसमा आएर विद्यार्थीलाई तर्साउने र जासुसी गर्ने काम बन्द गरियोस्।”

सामुदायिक सम्पत्तिमाथि खेतान परिवारको गिद्धे नजर हरि खेतान प्राध्यापक संघ र कर्मचारी युनियनले जारी गरेको विज्ञप्तिले क्याम्पसभित्रको भयानक बेथितिको पर्दाफास गरेको छ। प्रेम प्रकाश खेतानले एकल हस्ताक्षरको भरमा क्याम्पसको विधान नै बदलेर यसलाई आफ्नो ‘प्राइभेट कम्पनी’ बनाउन खोजेको आरोप शिक्षकहरूको छ। वर्षौँदेखि पसिना बगाएका शिक्षकहरूलाई पाखा लगाएर ‘फेक’ नियुक्ति र विधान संशोधनको खेल खेल्नुले क्याम्पसको भविष्य नै अन्धकारमा धकेलिएको छ।

छात्रवृत्तिमा ब्रम्हलुट: जे.पी. स्टोरको धन्दा क्याम्पसमा अर्को गम्भीर अनियमितता छात्रवृत्ति वितरणमा देखिएको छ। गरिब र जेहेन्दार विद्यार्थीको हक खोसेर जय प्रकाश खेतानले आफ्नो ‘जे.पी. स्टोर’ मार्फत आफ्ना आसेपासे र गोजीका मान्छेलाई छात्रवृत्ति बाँड्ने गरेको रहस्य खुलेको छ। यसले सामुदायिक शिक्षाको मूल्य र मान्यतालाई पूर्ण रूपमा समाप्त पारेको छ।

आन्दोलनकारीको अल्टिमेटम विद्यार्थी, शिक्षक र कर्मचारीले संयुक्त रूपमा ५ बुँदे माग अघि सार्दै अवैध नियुक्ति तत्काल खारेज गर्न र निजीकरणको प्रक्रिया रोक्न चेतावनी दिएका छन्। अवैध विधान नच्यातिएसम्म र कथित पत्रकारको नियुक्ति खारेज नभएसम्म आन्दोलन रोकिने छैन,” भन्दै आन्दोलनकारीले क्याम्पस ठप्प पार्ने चेतावनी दिएका छन्।

पोडकास्ट सुन्नुहोस