वीरगन्ज-
वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM) का नवनियुक्त डीन र महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुखलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ‘इन्स्टिच्युट अफ मेडिसिन’का डीन प्रा.डा. मोहन राज शर्मा र क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेतीलाई सम्मान गरिएको हो।
कन्फरेन्स हलको उद्घाटन र भव्य स्वागत
कार्यक्रमकै अवसरमा नेशनल मेडिकल कलेजभित्र निर्माण गरिएको आधुनिक कन्फरेन्स हलको समेत औपचारिक उद्घाटन गरिएको छ। प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा, अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेती र अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले संयुक्त रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
चिकित्सा क्षेत्रमा कलेजको योगदानको चर्चा
स्वागत मन्तव्य राख्दै कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले कलेजको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सो क्रममा बोल्ने वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, बिरामीको उपचार, अनुसन्धान र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार र शिक्षण संस्थाहरूबीचको आपसी सहकार्यमा जोड दिनुभएको थियो।
उपस्थिति र सम्मान
कलेजले दुवै विशिष्ट अतिथिहरूलाई दोसल्ला ओढाएर ‘मायाको चिनो’ सहित सम्मान गरेको थियो। कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी लगायत विभिन्न विभागका प्रमुख, चिकित्सक, शिक्षक र विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले यस्ता कार्यक्रमले राष्ट्रियस्तरका शैक्षिक संस्थाहरूसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन र धन्यवाद ज्ञापन उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो।















