२०८२ पुष २५ गते, शुक्रबार ११:११

पार्टी भित्रको विवाद समाधान गर्न काँग्रेसका २५ केन्द्रीय सदस्य जुटे छलफलमा

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ ।

सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको उक्त समूह शुक्रबार आन्तरिक छलफलमा जुटेको हो ।
छलफल ललितपुरको कुपण्डोलमा आयोजना गरिएको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार कोइरालासँग पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्न छलफल भएको थियो ।
यसअघि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो ।

समूहका सदस्यहरुले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेका थिए । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो ।
२५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।

पोडकास्ट सुन्नुहोस