वीरगन्ज-
स्वर्गीय गोपालगिरी पत्रकारिता पुरस्कार–२०८२ पत्रकार गोविन्द देवकोटालाई प्रदान गरिने भएको छ। नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा मंगलबार वीरगन्जमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
अढाई दशकभन्दा बढी समयदेखि पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार देवकोटालाई स्व. गिरीको पुण्यतिथि अर्थात् माघ १ गते एक विशेष समारोहबीच पुरस्कार प्रदान गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघले प्रत्येक वर्ष माघ १ गते स्व. गिरीको नाममा स्थापना गरिएको उक्त पुरस्कार वितरण गर्दै आएको छ। यस वर्ष पनि नगद ५१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने तयारी रहेको उहाँले बताउनुभयो।
त्यसैगरी, स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ वीरगन्जका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ। महासंघको कार्यालयमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो। स्व. पाण्डेको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको र महासंघले छिट्टै एक समारोह आयोजना गरी वितरण गर्ने जनाएको छ।
यसैबीच, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जकी महिला पत्रकारद्वय माधुरी महतो र बिमला गुप्तालाई प्रदान गरिने भएको छ। महासंघ पर्सा शाखाका अनुसार पत्रकार माधुरी महतोलाई स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार–२०८१ र पत्रकार बिमला गुप्तालाई सोही पुरस्कार–२०८२ बाट सम्मानित गर्ने निर्णय गरिएको हो।














