जनकपुर –
आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सम्बन्धित निकायहरुले आ–आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु तीव्र गतिमा गरिरहेका छन् ।
निर्वाचनका लागि सबैभन्दा पहिलो प्राथमिकतामा रहेको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सरकारले निर्वाचन प्रहरी भर्ना थालेको छ । देशभरमा जम्मा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया पुस २५ गतेदेखि नै सुरु भइसकेको छ ।
मधेश प्रदेशमा पनि निर्वाचन प्रहरीको भर्ना सुरु भएको पहिलो दिनदेखि नै भर्ना गराउन आउनेहरुको भीड थामी नसक्नु रहेको देखिएको छ ।
मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोबिन्द थपलियाका अनुसार मधेश प्रदेशमा ३० हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिने छ ।
जसमध्ये धनुषामा सबैभन्दा बढी ४ हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने छ भने सप्तरीमा ४ हजार २२२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२ सर्लाहीमा ३ हजार ९२६, रौतहटमा ३ हजार ८५१, सिरहामा ३ हजार ७५७ र पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ ।
भर्ना सुरु भएको पहिलो तीन दिनमै आठवटै जिल्लाबाट १७ हजार ६ सय १० जनाले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिएको डिआईजी थपलियाले जानकारी दिएका छन् । प्रत्येक दिन आवेदन दिनेको संख्या बढ्दै गएको उनको भनाई छ ।
उनका अनुसार आवेदन दिनेको संख्या आवश्यक भन्दा बढी हुन जाने भएपनि निश्चित मापदण्ड पूरा गर्नेहरुको मात्र भर्ना गरिनेछ । आवेदन दिने व्यक्तिको सीआरएस चेक, मेडिकल चेक र शारीरिक दुरुस्तता चेक भएर सबैमा पास हुनेहरुले मात्र नियुक्ति पाउने डिआजी थपलियाले बताए ।
धनुषामा पहिलो तीन दिनमै माग भन्दा बढी आवेदन आएको उनले बताए । दैनिक २ हजार जतिको नयाँ आवेदन दिनेहरु आइरहेको उनले जानकारी दिए । आवेदन दिनेहरुमा अधिकांश पुरुष रहेको उनले बताए ।
निर्वाचन प्रहरीले नेपाल सरकारले तोके बमोजिम ४० दिनको तलब भक्ता र काम गर्ने क्रममा प्रयोग गर्न दिइएको पोशाक, लाठी लगायतका सामानहरु पनि पाउने डिआईजी थपलियाले जानकारी दिए ।














