२०८२ माघ १ गते, बिहीबार ०९:४३

अन्नको भण्डार मधेशमा कुपोषणको ‘महामारी’: ४० प्रतिशत बालबालिका प्रभावित

जनकपुरधाम –

नेपालको ‘अन्नको भण्डार’ मानिने मधेश प्रदेशमा पछिल्लो समय कुपोषणको समस्या विकराल बन्दै गएको छ। कृषि उत्पादनमा धनी भए पनि मधेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो सर्वेक्षणले कुपोषणमा कर्णालीपछि मधेश प्रदेश दोस्रो स्थानमा रहेको देखाएको छ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार मधेशमा कृषि उत्पादन १०.२६ प्रतिशतले वृद्धि भई ६६ लाख मेट्रिक टन पुगेको दाबी गरिए पनि यहाँका बालबालिकाको स्वास्थ्य अवस्था भने दयनीय पाइएको छ।

१० मध्ये ४ बालबालिका कुपोषित

मधेशका हरेक १०० जनामध्ये ४० जना बालबालिका कुनै न कुनै प्रकारको कुपोषणको सिकार भएका छन्। प्रादेशिक अस्पताल जनकपुरधामको पोषणगृहको तथ्याङ्क अनुसार वार्षिक १५० देखि २५० जना बालबालिका कुपोषणकै कारण अस्पताल भर्ना हुने गरेका छन्। कुपोषण भएका बालबालिकाहरूमा क्षयरोग, मुटु, श्वासप्रश्वास र निमोनिया जस्ता गम्भीर समस्या समेत देखिने गरेको बालविभाग प्रमुख डा. वैद्यनाथ ठाकुरले बताउनुभयो।

धनीलाई ज्ञानको अभाव, गरिबलाई खानकै सास्ती

स्वास्थ्य निरीक्षक विनोद यादवका अनुसार मधेशमा कुपोषणको स्वरूप फरक छ। “गरिब परिवार खान नपाएर कुपोषणको सिकार भएका छन् भने धनी परिवारका बालबालिका खान नजानेर (जङ्क फुडको अत्यधिक प्रयोगले) कुपोषणको चपेटामा छन्,” यादवले भन्नुभयो।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण बुवा विदेशमा हुने र आमा घरायसी काममा व्यस्त हुँदा बालबालिकाको हेरचाह र आहारविहारमा समस्या देखिएको स्वास्थ्य सचिव डा. प्रमोद यादवको विश्लेषण छ।

तथ्याङ्कमा मधेशको स्वास्थ्य अवस्था:

सूचक अवस्था (प्रतिशतमा)
पुड्कोपन २९% (राष्ट्रिय औसत २५%)
कम तौल २७%
रक्तअल्पता (बालबालिका) ५०.६%
रक्तअल्पता (महिला १५-४९ वर्ष) ५२.४%
बालविवाह (१८ वर्ष मुनि) ४२%

कृषि उत्पादन धेरै, तर भोकै बस्नुपर्ने बाध्यता

राष्ट्रिय कृषि गणना २०७८ अनुसार मधेशका ६३.८ प्रतिशत परिवार कृषक छन्। तर, विडम्बना के छ भने ४३ प्रतिशत कृषक परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान पुग्दैन। कुल कृषकमध्ये ५७ प्रतिशतले मात्र आफ्नै उब्जनीबाट वर्षभरिको गर्जो टार्ने गरेका छन्।

मधेशमा वार्षिक करिब एक लाख ४० हजार बालबालिका जन्मिने गरेका छन्। तर, कुपोषणकै कारण प्रति एक हजार जीवित जन्ममा ४३ जना बालबालिकाको पाँच वर्ष मुनि नै मृत्यु हुने गरेको तथ्याङ्क छ।

समाधानका प्रयास र चुनौती

कुपोषण न्यूनीकरणका लागि जनकपुरधाम, राजविराज र वीरगञ्जमा पोषण पुनःस्थापना केन्द्रहरू सञ्चालनमा छन्। तर, चेतनाको अभाव र बजारमा पाइने ‘पत्रु खाना’ (Junk Food) प्रतिको बढ्दो मोहले यी केन्द्रहरूको प्रभावकारितामा चुनौती थपेको पोषण प्रबन्धक किरण यादव बताउनुहुन्छ।

पोडकास्ट सुन्नुहोस