वीरगन्ज –
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले वीरगन्ज-२५ सिर्सियास्थित मानव सेवा आश्रमको अवलोकन भ्रमण गर्नुभएको छ। माघे संक्रान्तिको अवसर पारेर बिहीबार आश्रम पुग्नुभएका आइजीपी कार्कीले त्यहाँ आश्रित आमाबुवाहरूको लागि खाजा, अति आवश्यक खाद्यान्न सामग्री र नगद १० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो।
आश्रमको अवस्थाबारे जानकारी लिँदै आइजीपी कार्कीले सडक आश्रित मानवहरूको सेवामा आश्रमले गरिरहेको कार्य अत्यन्तै सराहनीय रहेको बताउनुभयो। सो अवसरमा उहाँले आश्रमको सुरक्षा र सहयोगका लागि नेपाल प्रहरीको तर्फबाट एकजना प्रहरी कर्मचारी चौबिसै घण्टा खटाइएको जानकारी दिँदै आगामी दिनमा पनि प्रहरीको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया र पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिपराज पाठकको समेत उपस्थिति रहेको थियो।
मानव सेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ताले प्रहरी नेतृत्वबाट प्राप्त यस किसिमको सहयोग र हौसलाले आश्रम सञ्चालनमा थप ऊर्जा मिलेको बताउनुभयो। कार्यक्रममा आश्रमका अभिभावकहरू प्रकाश थारु, कमल चौगाई, डा. निरज सिंह, डा. प्रिती यादव, मौसमी श्रेष्ठका साथै स्वयंसेवकहरू ओमकुमार झा, सोनु चौरसिया, पियुष कानुन, सुजित गुप्ता लगायतको उपस्थिति रहेको थियो।
सडकमा अलपत्र परेका र बेसहारा नागरिकहरूलाई आश्रय दिँदै आएको यस शाखामा प्रहरी प्रमुखको भ्रमण र सहयोगलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।














