२०८२ माघ २ गते, शुक्रबार ११:०५

राष्ट्रलाई अब लोकप्रिय नारा होइन इमानदार नेतृत्व चाहिएको छः बालेन शाह

काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशलाई अब लोकप्रिय नारा नभई इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा काम गरेको स्मरण गरेका छन् । काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरिएको उल्लेख गर्दै उनले गोरखादेखि देशका ३५ भन्दा बढी जिल्लामा काम गर्ने अवसर पाएको बताएका छन् ।

नेपालजस्तो उच्च भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र नबन्ने उल्लेख गर्दै शाहले भौगोलिक बनोटसँगै समाजका विविध पक्षलाई सँगै उकासेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार राष्ट्र विकास भनेको भूगोल र जनता दुवैको विकास हो र यी दुवैलाई जोड्ने बलियो आधार निर्माण गर्नु राज्यको मुख्य जिम्मेवारी हो ।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको समन्वय, जिम्मेवार नीति र इमानदार नेतृत्व अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् । यही बुझाइका कारण आफू भारत गएर स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेको र अध्ययनपछि सुविधा सम्पन्न देशमा काम गर्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको शाहले बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेपछि शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जनताको प्रत्यक्ष हितमा काम गर्न सकिन्छ भन्ने प्रमाणित गरिएको दाबी गरेका छन् । पारदर्शी प्रणाली, संरचनागत सुधार र आम मानिसले अनुभूति गर्न सक्ने सेवाको सुरुवात महानगरबाट भएको र अब यी अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ ।

शाहका अनुसार विकास भनेको सडक, भवन र ठूला संरचना मात्र होइन । सुरक्षित संरचना, जनताको आशा जोगाउने वातावरण, संस्थागत विकास र जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने समुन्नति हो । भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति अहिलेको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।

स्ट्रक्चरल इन्जिनियरको रूपमा आफूले बुझेको कुरा स्पष्ट रहेको भन्दै शाहले देशलाई अब अल्पकालीन निर्णय नभई दीर्घकालीन दृष्टिकोण चाहिएको बताएका छन् । उनले लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व, संकट आउनुअघि तयारी हुने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

पोडकास्ट सुन्नुहोस