२०८२ माघ ५ गते, सोमबार १४:०८

पर्सामा म्यादी प्रहरी छनोट सुरु: २८ सयका लागि ६ हजारको आवेदन

वीरगन्ज –

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को छनोट प्रक्रिया सुरु भएको छ।

जिल्लाभरबाट आवेदन दिएका उम्मेदवारहरूको आजदेखि वीरगन्जस्थित नारायणी रङ्गशालामा शारीरिक परीक्षण तथा अन्य छनोटका कामहरू अगाडि बढाइएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका संयोजक सुमनकुमार कार्कीका अनुसार आज बिहानैदेखि सुरु गरिएको छनोट प्रक्रियामा उम्मेदवारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

छनोट प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वस्तुपरक बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको प्रत्यक्ष निगरानी र सुपरिवेक्षण रहने व्यवस्था मिलाइएको छ।

जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी कुल २ हजार ८५२ जना निर्वाचन प्रहरीको माग गरिएकोमा मागको तुलनामा आवेदन दिनेहरूको सङ्ख्या निकै धेरै रहेको छ। तथ्याङ्क अनुसार नेपाल प्रहरीतर्फ २ हजार ४६७ जनाको माग भएकोमा ५ हजार ३९९ जनाले आवेदन दिएका छन् भने सशस्त्र प्रहरीतर्फ ३८५ जनाको मागमा ५७१ जनाको आवेदन परेको छ।

छनोटका क्रममा उम्मेदवारहरूको दौड र अन्य शारीरिक गतिविधिलाई मुख्य आधार बनाइएको छ। रङ्गशालामा बिहानैदेखि लाइन लागेका युवाहरूलाई विभिन्न शारीरिक परीक्षण गराई योग्यता पुगेकाहरूलाई मात्र अर्को चरणमा सहभागी गराइने समितिले जनाएको छ।

पोडकास्ट सुन्नुहोस