वीरगन्ज –
नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। वीरगन्ज महानगरपालिका–२९ मुसौली निवासी तथा एमाले नेता प्रद्युम्न यादवकी श्रीमती यादवलाई पार्टीले औपचारिक रूपमा उम्मेदवारी पत्र (टिकट) हस्तान्तरण गरेको हो।
टिकट वितरणका लागि आयोजित विशेष कार्यक्रममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, नेताहरू बासुदेव यादव र लियाकत अली लगायतका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो। उम्मेदवारी घोषणा गर्दै नेताहरूले रिमा कुमारी यादवको चयनले क्षेत्रमा पार्टीको साख बढ्ने र मतदातासँगको प्रत्यक्ष सम्पर्क थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
यस पटकको निर्वाचनमा एमालेले पर्सा–२ मा जातीय समन्वय, स्थानीय विकास र सामाजिक सेवाका एजेन्डाहरूलाई मुख्य प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिने बताएको छ। पार्टीले रिमा कुमारीको उम्मेदवारीले महिला प्रतिनिधित्व र स्थानीय विकासको चाहनालाई सम्बोधन गर्ने दाबी समेत गरेको छ।














