२०८२ माघ ५ गते, सोमबार १५:३७

मधेशमा अब विकासको ज्वालामुखी फुट्छ, रास्वपाले मधेशको छोरालाई प्रधानमन्त्री बनाउँछ: रहबर अन्सारी

जनकपुर –

नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशमा अब विकासको नयाँ युग सुरु हुने उद्घोष गरेका छन्। सोमबार जनकपुरमा आयोजित रास्वपाको विशाल सभालाई सम्बोधन गर्दै नेता अन्सारीले मधेशको माटोबाट अब देश विकासको विगुल फुकिने बताएका हुन्।

सम्बोधनका क्रममा अन्सारीले विगतका नेतृत्वले मधेशी जनतालाई केवल आश्वासनमा मात्रै अल्झाएको आरोप लगाए। उनले भने, “हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडियो। अब इमानदार नेतृत्व र निष्ठाको बलमा ती गाडिएका सपनाहरूलाई निकालेर ज्वालामुखीझैं विकासको लहर ल्याउन म रास्वपामा आएको हुँ।”

नेता अन्सारीले रास्वपा सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको मधेशले उच्च कदर गरेको समेत उल्लेख गरे। मधेशले सधैं संघर्ष र दुःख चिनेको बताउँदै उनले अब परिवर्तनको शक्तिलाई पनि बुझिसकेको दाबी गरे।

“रास्वपा शान्ति र निलो रङको प्रतीक हो,” अन्सारीले अगाडि थपे, “आज यो मधेशी भूमिले आफ्नै छोरालाई देशको नेतृत्वको केन्द्रमा देख्न चाहन्छ। रास्वपाले अघि सारेको मधेशको छोरालाई प्रधानमन्त्रीको रूपमा हेर्ने मधेशी जनताको चाहना अब छिट्टै पूरा हुनेछ।”

उक्त सभामा रास्वपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जहाँ अन्सारीले मधेशको समृद्धि र अधिकारका लागि रास्वपा नै निर्विकल्प शक्ति भएको जिकिर गरे।

पोडकास्ट सुन्नुहोस