पर्सा-
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १८७ पुगेको छ, जसमा १६० महिला र १ हजार २४ पुरुष छन् ।
उमेरगत विवरणअनुसार २५ देखि ३५ वर्ष समूहमा ५८३ जना उम्मेदवार छन् । यस समूहमा ६७ महिला, ५१५ पुरुष र १ जना अन्य समूहका छन् । ३६ देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै १ हजार ६१० जनाको उम्मेदवारी परेको छ, जसमा २३५ महिला र १ हजार ३७५ पुरुष छन् ।
५१ देखि ६५ वर्ष उमेर समूहमा १ हजार ९० जना उम्मेदवार छन् । यसमा ९० महिला र १ हजार पुरुष छन् । ६५ वर्षभन्दा माथि उमेर समूहका २०१ जनाले उम्मेदवारी दिएका छन्, जसमा ३ महिला र १९८ पुरुष छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि कुल ६८ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।














