२०८२ माघ ७ गते, बुधबार १८:१६

मोटरसाइकल चोरीमा संलग्न श्रीपुरका साहिल र श्यामबाबुसहित भारतीय नागरिक रोशन गुप्ता पक्राउ

वीरगन्ज-

वीरगन्ज र आसपासका क्षेत्रमा मोटरसाइकल चोरी गरी त्रास फैलाएको एक गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले गिरोहका तीन जना युवालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नं. १३ श्रीपुर बस्ने १९ वर्षीय साहिल कुमार रौनियार, १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार, पूर्वी चम्पारण घर भई हाल श्रीपुरमै बस्दै आएका १९ वर्षीय रोशन कुमार गुप्तालाई सार्वजनिक गरेको छ।

पक्राउ परेकाहरूबाट दुईवटा मोटरसाइकल र एउटा स्कुटर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। वीरगन्जको राधेमाई टोलबाट चोरीको मोटरसाइकलसहित पक्राउ परेका रौनियारले दिएको जानकारीका आधारमा बाँकी दुई जनालाई चोरीका अन्य सवारीसहित नियन्त्रणमा लिइएको डीएसपी बस्नेतले बताउनुभयो।

गत माघ ५ गते बेलुका वीरगन्ज–१३ राधेमाई सडकखण्डमा अगाडिको तार काटिएको, साँचो नभएको र पछाडिको नम्बर प्लेट निकालिएको BR 05 AQ 6924 नम्बरको मोटरसाइकल डोर्‍याइरहेको अवस्थामा रौनियार फेला परेका थिए। शंका लागेर सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा नम्बर प्लेट नभएको होन्डा साइन मोटरसाइकल र ना ५५ प १५ नम्बरको कालो रङको स्कुटर समेत बरामद भएको हो।

पक्राउ परेका तीनै जना विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराई यस क्षेत्रमा भएका अन्य मोटरसाइकल चोरीका विषयमा थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको डीएसपी बस्नेतले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस