काठमाडौँ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग जोडिएको बहुचर्चित मुद्दाले फेरि सर्वोच्च अदालतको ध्यान तानेको छ। ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्दै मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटको सुनुवाइ हुन लागेको हो। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग्दै विषयलाई गम्भीर रूपमा लिएको संकेत दिएको थियो। सो जवाफ प्राप्त भएसँगै सर्वोच्चले आजका लागि पेसी तोकेको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले बिहीबार दायर गरेको रिटमा महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयलाई “प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी” ठहर गर्दै बदर गर्न माग गरिएको छ।
महान्यायाधिवक्ता भण्डारीले २०८२ पुस ३० गते रवि लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने तर्क अघि सारिएको थियो।
तर रिट निवेदकहरूले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ को आडमा गरिएको यो निर्णय व्यवहारतः मुद्दा फिर्ता लिने कृत्य भएको दाबी गरेका छन्। उनीहरूका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन दफा ११६ ले स्पष्ट रोक लगाएको अवस्थामा यस्तो निर्णय गर्नु “कानुनको कपटपूर्ण प्रयोग” हो।
रिटमा सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिइए नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल ९ँब्त्ँ० को कालोसूचीमा पर्न सक्ने खतरा औँल्याइएको छ। यसले मुलुकको अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविमा अपूरणीय क्षति पुग्ने चेतावनीसमेत दिइएको छ।
मिलापत्र गर्न नमिल्ने सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा अभियोग संशोधन गर्दा हजारौँ बचतकर्ताको न्याय पाउने अधिकार कुण्ठित हुने र कानुनी राज्यको अवधारणामै प्रश्न उठ्ने जिकिर रिटमा गरिएको छ।
अब सर्वोच्च अदालतको आजको सुनुवाइले यो बहुचर्चित मुद्दालाई कुन दिशातर्फ मोड्ने हो भन्नेमा सबैको चासो केन्द्रित भएको छ।













