२०८२ माघ १२ गते, सोमबार १५:५७

पर्सा प्रहरीद्वारा रेल्वे रोडबाट ३० लाखभन्दा बढी मूल्यको सामान बरामद

वीरगन्ज-
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाको वडा नं। ७, रेल्वे रोडमा अवस्थित एक गोदामबाट करिब ३० लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरी आज वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रेल्वे रोडमा अवस्थित एस.बि. ट्रेडिङ्गको गोदामबाट भन्सार छलि भित्र्याइएका किराना तथा स्टेसनरीसम्बन्धी सामान बरामद गरिएको हो । आवश्यक कागजात नपाइएको ती सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

भन्सार छलि गरी भित्र्याइएका सामान गोदाममा राखिएको भन्ने सूचनाको आधारमा आइतबार साँझ प्रहरीले एस।भी। ट्रेडिङ्गको गोदाममा विधिवत् छापा मारेको थियो । सो क्रममा कागजातविहीन विभिन्न सामान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

छापामारीका क्रममा पेन्सिल, कटर, इरेजर, तास, टेप, बेलुन, लाइट, रबर, जिबिया, गुच्चालगायतका सामान बरामद गरिएको र आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।

पोडकास्ट सुन्नुहोस