२०८२ माघ १४ गते, बुधबार ११:१७

बारामा एकै परिवारका दुई जनाको विभत्स हत्या, बुहारी नियन्त्रणमा

कलैया-

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १, रहरियाडीमा बुधबार बिहान एकै परिवारका दुई जनाको निर्मम हत्या भएको छ । अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई सदस्य गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन् । आज बिहान करिब ३ बजेको समयमा अज्ञात समूहले घरमा सुतिरहेका उनीहरूमाथि धारिलो हतियारले टाउकोमा प्रहार गरेको थियो ।

आक्रमणमा परी मृतक रामेश्वरका ५२ वर्षीय बुवा जगरूप मण्डल र २२ वर्षीया बहिनी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् । उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती (बुहारी) मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ । परिवारका अन्य सदस्यमाथि घातक प्रहार भई मृत्यु र गम्भीर घाइते हुँदा पनि बुहारी मनिता भने पूर्ण रूपमा सुरक्षित देखिएकाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

“घरका सबै सदस्यमाथि आक्रमण हुँदा बुहारी मात्र कसरी सुरक्षित रहिन् भन्ने विषय अनुसन्धानको मुख्य घेरामा छ,” प्रहरी स्रोतले भन्यो ।

 एकै परिवारका सदस्यको विभत्स हत्या भएपछि रहरियाडी गाउँ शोक र त्रासमा डुबेको छ । घटनाको गम्भीरतालाई हेर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितको नेतृत्वमा प्राविधिक टोली र तालिमप्राप्त कुकुरको समेत सहयोगमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

एसपी नरेन्द्र कुँवरले विभिन्न कोणबाट प्रमाणहरू सङ्कलन भइरहेको र दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । हाल प्रहरीले घटनास्थललाई सिल गरी सुरक्षा सतर्कता बढाएको छ ।

पोडकास्ट सुन्नुहोस