२०८२ माघ १४ गते, बुधबार १६:२९

एमाले वीरगन्ज महानगरको बैठक सम्पन्न: ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

वीरगन्ज-

नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको चौथो पूर्ण बैठक आगामी निर्वाचनलाई लक्षित गर्दै महत्वपूर्ण सांगठनिक निर्णयहरूका साथ सम्पन्न भएको छ। महानगर कमिटीका कार्यवाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठनलाई थप मजबुत बनाउन ५५१ सदस्यीय ‘महानगर निर्वाचन परिचालन समिति’ गठन गर्ने निर्णय गरेको छ।

वीरगन्जमा आयोजित बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगीको प्रमुख आतिथ्य रहेको थियो भने महानगर इन्चार्ज विचारी यादवले कार्यक्रमको संयोजन गर्नुभएको थियो। बैठक मुख्य गरी आगामी निर्वाचनको रणनीति, संगठन विस्तार र कार्यकर्ता परिचालनमा केन्द्रित रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि विजय कुमार सरावगीले पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो। बैठकमा पर्साका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले समेत आफ्नो चुनावी योजना र वर्तमान राजनीतिक अवस्थाबारे धारणा राखेका थिए।

सहभागी हुनेहरूमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदिप यादव, क्षेत्र नम्बर–२ का उम्मेदवार रिमा यादव, र क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डे रहनुभएको थियो। त्यस्तै, महानगर कमिटीका लेखा अध्यक्ष अजय कुमार साह लगायत ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकले निर्वाचन परिचालन समिति गठनका साथै अन्य रणनीतिक निर्णयहरू समेत पारित गरेको छ। ५५१ सदस्यीय विशाल समितिले महानगरका प्रत्येक वडा र टोलसम्म पुगेर पार्टीको एजेन्डा र सूर्य चिह्नको प्रचार-प्रसार गर्ने जिम्मेवारी पाएको छ।

पार्टीले वीरगन्ज महानगर क्षेत्रमा अबका दिनमा निर्वाचन लक्षित गतिविधिलाई अझ तीव्र बनाउने र जनताको घरदैलोमा पुग्ने संकल्प समेत गरेको छ।

पोडकास्ट सुन्नुहोस