२०८२ माघ १७ गते, शनिबार १९:००

पर्सामा रास्वपाको ‘क्रेज’: ४०० बढी Gen Z युवाहरू पार्टी प्रवेश, चुनाव जित्ने हरि पन्तको उद्घोष

वीरगन्ज-

पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तारलाई तीव्र पारेको छ। शनिबार वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बीच पर्साका ४०० भन्दा बढी Gen Z (नयाँ पुस्ता) का युवाहरू रास्वपामा प्रवेश गरेका छन्।

युवा नेता परबेज शेखको नेतृत्वमा कमलेश पटेल, रन्जित साह कल्वार, साहिल शेख, सन्नी अलि, आनन्द चौहान, अजय पन्डित, शेख अल्ताफ, प्रियन्जन यादव, सन्जीत साह र दनिश शेख लगायतका सयौँ युवाहरूले पुराना दल त्याग गरी रास्वपाको घण्टी समातेका हुन्।

नवप्रवेशी युवा नेता परबेज शेखले मुलुकमा वास्तविक परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्र सम्भव भएकोले आफूहरू यो अभियानमा जोडिएको बताउनुभयो। उहाँले भन्नुभयो, “पर्साका Gen Z युवाहरू अब सचेत भइसकेका छन्। सुदन गुरुङ, पुरुषोत्तम यादव लगायतका मुख्य युवा नेताहरू पनि यसअघि नै रास्वपामा समाहित भइसक्नुभएको छ। अब रास्वपाले नै Gen Z आन्दोलनलाई सम्बोधन गर्छ र हामी पर्सामा घण्टी जिताउन ज्यान फालेर लाग्नेछौँ।”

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले युवाहरूको यो ठूलो साथले आफूलाई उत्साहित बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “यी Gen Z युवाहरू नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हुन्। चुनाव जित्नका लागि आवश्यक पर्ने युवा शक्तिको साथ पाएपछि अब म जितमा ढुक्क छु।”

सभापति पन्तले निर्वाचनमा हुने अवैध पैसाको चलखेल र भड्किलो प्रचारलाई कानुन सम्मत तरिकाले रोक्न र जनताको घरदैलोमा पुग्न युवाहरूलाई निर्देशन समेत दिनुभयो।

महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रास्वपाका जिल्ला तथा नगर तहका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। यति ठूलो संख्यामा युवाहरू रास्वपामा प्रवेश गरेपछि पर्साको चुनावी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।

पोडकास्ट सुन्नुहोस