वीरगन्ज-
नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले मुलुकमा आर्थिक विकास र समृद्धि नेपाली काँग्रेसबाहेक अन्य कुनै पनि पार्टीले गर्न नसक्ने दाबी गर्नुभएको छ ।
उहाँले २०४६ सालको जनआन्दोलनपछिको निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई बहुमत दिएपछि देशमा भएको आर्थिक विकास त्यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । देशमा दिगो आर्थिक विकासका लागि नेपाली काँग्रेसको बहुमत सरकार आवश्यक रहेको उल्लेख गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको रुख चिह्नमा मतदान गर्न उहाँले आम मतदातालाई अपिल गर्नुभयो ।
अन्य पार्टीहरू विकासको कुरा मात्र गर्ने तर नेपाली काँग्रेसले बहुमत पाएपछि औद्योगिक विकास गरेर देखाएको उहाँको भनाइ थियो । नेपाल ट्रेड युनियन काँग्रेसले आज वीरगन्जमा आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले देशको पक्षमा आर्थिक नीति बने उद्योगधन्दाको विकास हुने र उद्योगधन्दा फस्टाएपछि रोजगारी सिर्जना भई नागरिकको जीवनस्तरमा सुधार आउने स्पष्ट पार्नुभयो ।
उहाँले २०५६ सालमा काँग्रेसलाई जनताले बहुमत दिँदा देशमा आर्थिक क्रान्ति भएको स्मरण गराउँदै फेरि बहुमत प्राप्त भएमा देश र जनताको आवश्यकताअनुसार आर्थिक क्रान्ति गरेर देखाउने दाबी गर्नुभयो । युवा, मजदुर तथा आम नागरिकको अधिकारका लागि नेपाली काँग्रेसले मात्रै काम गरेको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै पार्टी सभापति गगन थापाको नेतृत्वमा बहुमतको सरकार बनाउन देशभरका मतदातालाई आग्रह गर्नुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीन महिनाको सिलाइ–कटाइ तथा १५ दिने ब्युटिसियन तालिममा सहभागी भएका १५–१५ जनालाई उम्मेदवार रुङ्गटाले दक्षताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । साथै पर्साको सबैया साझेदारी वन उपभोक्ता समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका लखलला साहलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व सभापति एवं संविधान सभा सदस्य अजय कुमार द्विवेदी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, अमृतलाल जोशी, लक्ष्मण प्रसाद कुर्मी, मणिन्द्रलाल नेपालीलगायत वक्ताहरूले काँग्रेसको बहुमत सरकारले नै नेपाल र नेपालीको विकास गर्ने भन्दै रुख चिह्नमा मतदान गरी नेपाली काँग्रेसका उम्मेदवारलाई बहुमतले विजयी बनाउन अपिल गर्नुभएको थियो ।













