पर्सा –
नेकपा एमाले पर्सा क्षेत्र नम्बर–२ अन्तर्गत वीरगन्ज महानगरपालिका–२५ श्रीसियामा आज अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ। आगामी निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि आयोजित उक्त भेलामा एमालेका शीर्ष नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
क्षेत्रीय अध्यक्ष मनोज कुशवाहाको अध्यक्षतामा सम्पन्न भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरूले क्षेत्र नम्बर २ को विकासका लागि एमालेको जित अनिवार्य रहेकोमा जोड दिए। कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली, नेताहरू प्रेमबाबु पटेल, मुकेश द्विवेदी, र खुरम आलम लगायतले आ–आफ्नो धारणा राख्दै पार्टीलाई एकजुट भई विजयी गराउन आह्वान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले वर्तमान राजनीतिक अवस्था र आफ्नो योजनाबारे प्रष्ट पारेकी थिइन्। उनले यसअघि निर्वाचित जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताइन्।
मधेशमा महिलाको अवस्था अझै पनि नाजुक रहेको चर्चा गर्दै यादवले भनिन्, “म पद, पावर वा पैसाका लागि राजनीतिमा आएकी होइन। नागरिकको जीवनस्तर सुधार, महिला सशक्तिकरण र देशको समग्र विकास नै मेरो मुख्य लक्ष्य हो।” उनले आफू युवा भएको नाताले युवाका समस्या र महिलाले भोग्नुपरेका सामाजिक कठिनाइहरू समाधान गर्न संसद्मा सशक्त आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरिन्।
सम्बोधनको अन्त्यमा उनले परिवर्तन र विकासका लागि आगामी निर्वाचनमा ‘सूर्य’ छापमा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गरिन्। भेलाले स्थानीय स्तरमा चुनाव लक्षित अभियानलाई थप तीव्रता दिने निर्णय समेत गरेको छ।














