काठमाडौं –
जेनजी आन्दोलनको अराजकतापूर्ण अवस्थालाई अवसर बनाएर कारागार र प्रहरी हिरासतबाट भागेका कैदीबन्दीहरू फेरि सडकमा अपराधको श्रृंखला चलाउन थालेका छन्। हत्या, जबर्जस्ती करणी, लुटपाट, चोरी र डकैतीका घटनाले फरार कैदीबन्दी मुलुककै सुरक्षा चुनौती बन्दै गएको देखिएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार, गत भदौ २४ गते आन्दोलनको दोस्रो दिन देशका २८ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै ४ हजार ३ सय जना फरार छन्। पक्राउ पर्ने क्रम जारी रहे पनि, फरार कैदीबन्दीले एकपछि अर्को गम्भीर अपराध दोहोर्याइरहेका घटनाले राज्य संयन्त्रलाई दबाबमा पारेको छ।
जेलबाट भागे, भोलिपल्टै बलात्कार प्रयास
कञ्चनपुर कारागारबाट भागेका दीपक सुनार यसको ज्वलन्त उदाहरण हुन्। भदौ २४ गते जेलबाट भागेका उनी भोलिपल्टै जबर्जस्ती करणी उद्योग कसुरमा पक्राउ परे। दोधारा–चाँदनीकी एक महिलाको घरमा खाना खाएर उही महिलामाथि बलात्कार प्रयास गरेका सुनारलाई महिलाको चिच्याहटपछि स्थानीयले नियन्त्रणमा लिए। बलात्कार कसुरमै ९ वर्ष कैद सजाय काटिरहेका सुनार जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए।
लागुऔषध मुद्दाका कैदी, हत्या अभियोगमा समातिए
दाङका आकाश मगर लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय भोग्दै नख्खु कारागारमा थिए। जेलबाट भागेपछि उनी काठमाडौंको ठमेलमा सुरज तामाङको हत्या अभियोगमा पक्राउ परे। सीसीटीभी फुटेजमै धारिलो हतियार प्रहार गरेको दृश्य देखिएपछि प्रहरीले पुस २३ मा रोल्पाबाट मगरलाई पक्राउ गरेको थियो।
जेलबाट भागेर श्रीमतीकै हत्या
नख्खु कारागारबाट भागेका काभ्रे पनौती–१२ का सन्तबहादुर तामाङले त अपराधको सीमाना नै तोडे। बलात्कार मुद्दामा सजाय काटिरहेका तामाङले असोज २ गते आफ्नै श्रीमती ३० वर्षीया मनीषाको हत्या गरे। शव लुकाउन घरदेखि पाँच सय मिटर टाढा खाल्डो खनेर पुरेपछि उनी फेरि आफैं कारागार फर्किए। नख्खुमा हाजिर हुँदा उनले ‘श्रीमती मारेर आएको’ भन्दै प्रशासनलाई जानकारी गराएका थिए।
ज्यान मुद्दाका दोषी, अर्को हत्या प्रयासमा पक्राउ
२५ वर्ष कैद सजाय तोकिएका दाङ तुलसीपुरका खिमबहादुर बिक पनि जेलबाट भागेपछि पुनः हत्या प्रयासमा संलग्न भए। असोज ११ गते धारिलो हतियार प्रहार गरी ५३ वर्षीय व्यक्तिको ज्यान लिन खोजेको जाहेरी प्रहरीमा परेको थियो।
भागेकै कैदीको गैंडाकोटमा हत्या
भीमफेदी कारागारबाट भागेका नारायण कुमाल भने आफैं हिंसाको सिकार बने। बलात्कार मुद्दामा १० वर्ष कैद सजाय पाएका कुमालको कात्तिक ७ गते गैंडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
जेलबाट भागेर मोटरसाइकल चोरीको ‘र्याकेट’
नख्खु कारागारबाट भागेका अभय तुलाधर र रोहित शाहीले काठमाडौं र भक्तपुरमा ४९ वटा मोटरसाइकल चोरी गरेर बिक्री गरेको खुलासा भयो। पक्राउ गर्न खोज्दा तुलाधरले प्रहरीमाथि चक्कु प्रहारसमेत गरेका थिए।
प्रहरी हिरासतबाट भागेर सुन लुट्ने गिरोह
प्रहरी हिरासतबाट भागेका विनय तामाङले संगठित डकैती गिरोह चलाए। बौद्ध, बालाजु र ठिमी क्षेत्रमा सक्रिय उनको समूहले रातको समयमा पैदलयात्रीलाई ज्यान मार्ने धम्की दिएर सुन र नगद लुट्ने गरेको पाइएको छ। पक्राउ परेका अधिकांश सदस्यको विगत पनि आपराधिक रहेको प्रहरीले जनाएको छ।
प्रहरीको चेतावनीस् ‘सूक्ष्म निगरानीमा छौं’
केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार, जेनजी आन्दोलनको मौका छोपेर भागेका कैदीबन्दी र थुनुवामाथि सूक्ष्म निगरानी भइरहेको छ।
“चार हजारभन्दा बढी कैदीबन्दी अझै फरार छन्। उनीहरू पुनः अपराधमा संलग्न भइरहेको पुष्टि भइसकेको छ,” काफ्लेले भने, “प्रहरीले नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइरहेको छ।”
प्रहरी मुख्यालयका अनुसार, फरार कैदीबन्दी र थुनुवाले काठमाडौं, भक्तपुर, काभ्रे, झापा, सुनसरी, उदयपुर, कास्की, कैलाली र महोत्तरीमा कम्तीमा १५ वटा गम्भीर अपराध गराइसकेका छन्।














