२०८२ माघ १९ गते, सोमबार १३:०४

पर्सामा रास्वपाको चुनावी तयारी तीव्र: “भ्रष्टाचार र कुशासन विरुद्ध फागुन २१ मा ब्यालेटबाट विद्रोह हुन्छ” : हरि पन्त

वीरगन्ज –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचन क्षेत्र नम्बर १ का सक्रिय सदस्यहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आगामी निर्वाचनको रणनीति तय गर्न आयोजित उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

अन्तरक्रियामा पर्साका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन कुन तहका कार्यकर्ताको कस्तो भूमिका रहने भन्ने विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा सहभागी सदस्यहरूले आ-आफ्नो क्षेत्रको वस्तुस्थिति र विजयका लागि अपनाउनुपर्ने उपायबारे भिन्न-भिन्न दृष्टिकोण र सुझावहरू प्रस्तुत गरेका थिए।

भ्रष्टाचार र नातावाद विरुद्ध ब्यालेट विद्रोह

कार्यक्रममा उठेका जिज्ञासा र सुझावहरूलाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले कार्यकर्ताका जायज सुझावहरूलाई पार्टीले आत्मसाथ गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “आगामी फागुन २१ गते नेपाली जनताले वर्षौँदेखि जरा गाडेको भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावाद विरुद्ध ब्यालेट (मतपत्र) मार्फत विद्रोह गर्नेछन्। जनता अब परिवर्तनको पक्षमा उभिसकेका छन्।” सभापति पन्तले कार्यक्रममा देखिएको कार्यकर्ताको बाक्लो उपस्थिति र सक्रियताले आफ्नो र पार्टीको हिम्मत बढाएको भन्दै पर्साका चारै क्षेत्रमा रास्वपाको जित सुनिश्चित भएको दाबी गर्नुभयो।

नेतृत्वको उपस्थिति र ऐक्यबद्धता

सयौँको संख्यामा शुभेच्छुक तथा सक्रिय सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या र फैयाद मियाँ लगायतका नेताहरूले पार्टीको संगठन सुदृढीकरण र चुनावी प्रचार प्रसारमा जोड दिनुभएको थियो।

महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सह-सचिव कृष्ण पासवानले गर्नुभएको थियो। निर्वाचन नजिकिँदै गर्दा रास्वपाले पर्सामा आफ्नो घरदैलो र टोल भेलालाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।

पोडकास्ट सुन्नुहोस