२०८२ माघ १९ गते, सोमबार १२:४३

भावनाभड्काउने र लोकप्रिय नाराबाट सावधान रहन रुङ्गटाको आग्रह

वीरगन्ज –

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटाले भावनाभड्काउने तथा कर्णप्रिय नारा लगाएर भोट माग्ने चटकी र बहुरुपियाबाट आम मतदातालाई सावधान रहन आग्रह गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका वडा नं. ३० ललपर्सामा सम्पन्न घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले नेपाली जनताको हितका लागि विगतदेखि वर्तमान हुँदै भविष्यसम्म निरन्तर काम गर्ने पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्नुभयो। जनताको हितमा इमान्दारीपूर्वक काम गर्ने शिक्षित र योग्य उम्मेदवारलाई मतदान गर्न उहाँले मतदातासमक्ष अपिल गर्नुभयो।

उहाँले भन्नुभयो, “जब–जब चुनाव आउँछ, तब–तब नयाँ दलहरू लोकप्रिय नारा र भावनात्मक कुरा गरेर मत बटुल्ने प्रयास गर्छन्, तर चुनावपछि जनताका समस्या यथावत् नै रहन्छन्। यही प्रवृत्तिका कारण अपेक्षित विकास हुन सकेको छैन।” त्यसैले सधैं जनताको हित, हक र अधिकारका लागि काम गर्दै आएको नेपाली कांग्रेसलाई मतदान गरी मुलुकलाई विकासको मार्गमा अघि बढाउन सबैसँग आग्रह गर्नुभयो।

नेपालमा भएका अधिकांश विकास कार्य कांग्रेस नेतृत्वकै सरकारका पालामा सम्पन्न भएकाले जनतामाझ आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको पार्टीका उम्मेदवारलाई मतदान गरे जनअपेक्षाअनुसार विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

चुनाव जित्ने उद्देश्यले पार्टी परिवर्तन गर्ने, सिद्धान्तविहीन राजनीति गर्ने तथा युवालाई उचालेर हिंसात्मक राजनीति गर्नेहरूले देश बनाउन नसक्ने उल्लेख गर्दै रुङ्गटाले आफ्नो सिद्धान्तमा अडिग रही जनताको विश्वास जित्न सफल नेपाली कांग्रेसले नै मुलुकमा विकास र समृद्धि ल्याउन सक्ने ठोकुवा गर्नुभयो।

वडा नं. ३० लगायत पर्सा क्षेत्र नं. १ का नागरिकले भोग्दै आएका आधारभूत समस्या—सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

उक्त रात्रीकालीन चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व नगरसभापति विजय सर्राफ, भोला साह कलावर, उपसभापति अनिल सिंह, सचिव हरि यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले कांग्रेस उम्मेदवार रुङ्गटालाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए।

पोडकास्ट सुन्नुहोस