२०८२ माघ १९ गते, सोमबार १२:४१

त्रिभुवन विमानस्थल भन्सारका ३ कर्मचारी रंगेहात पक्राउ

काठमाडौं –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै खुलेआम घुसको कारोबार भइरहेको तथ्य सार्वजनिक भएको छ। वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाल रहेका छन्। अख्तियारको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुस लिएको १० हजार रुपैयाँ र स्रोत नखुलेको १ लाख ३६ हजार ४२० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै, नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँसहित स्रोत नखुलेको रकम जोड्दा कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।

उनीहरूले कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानमा अनावश्यक अड्चन सिर्जना गरी सेवाग्राहीसँग घुस माग्दै आएको सूचना पाएपछि अख्तियारले गोप्य निगरानी बढाई छापा मारेको जनाएको छ।

छापाका क्रममा नगद रकमसँगै विभिन्न ब्रान्डका २३ थान मोबाइल फोनसमेत बरामद गरिएको छ। घटनाले विमानस्थल भन्सारमा लामो समयदेखि चल्दै आएको घुसखोरीको सञ्जालमाथि गम्भीर प्रश्न खडा गरेको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस