काठमाडौं –
मध्यपूर्वमा बढ्दो तनावका बीच इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिएका छन्। अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेमा त्यसले सीमित द्वन्द्व होइन, सम्पूर्ण क्षेत्रलाई तान्ने युद्धको रूप लिने खामेनीको दाबी छ।
इरान वरपरका देशहरूमा अमेरिकाले सैनिक उपस्थिति बढाइरहेका बेला खामेनीको यो कडा अभिव्यक्ति सार्वजनिक भएको हो। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार खामेनीले स्पष्ट शब्दमा भनेका छन्,
“यदि अमेरिकीहरूले युद्ध सुरु गरे भने यसपालि त्यो एउटा क्षेत्रीय युद्ध हुनेछ।”
साथै, उनले अमेरिकाको धम्कीबाट इरान नडराउने र आवश्यक परे कडा जवाफ दिन तयार रहेको सन्देश दिएका छन्।
इरानको पारमाणविक कार्यक्रम र सरकारविरोधी प्रदर्शनकारीमाथि गरिएको दमनलाई कारण देखाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध बारम्बार सैन्य कारबाहीको संकेत दिँदै आएका छन्। यसै कारण इरान, खाडी क्षेत्र र समग्र मध्यपूर्वमा तनाव चरम सीमामा पुगेको विश्लेषकहरू बताउँछन्।
तनाव बढ्दै गएपछि नेपाल सरकारले समेत सतर्कता अपनाउँदै इरानमा रहेका नेपालीलाई सुरक्षित रहन, सम्भव भए इरान छाड्न तथा इरान जाने यात्रा स्थगित गर्न ट्राभल एडभाइजरी जारी गरेको छ।
यद्यपि युद्धको बादल मडारिरहेका बेला कूटनीतिक प्रयास पनि निरन्तर जारी छन्। कतारको पहलमा शान्ति बहालीका लागि संवादको प्रयास भइरहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले “इरानबारे गम्भीर छलफल भइरहेको” बताएका छन् भने इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जालमार्फत ‘मिडियामा देखाइएजस्तो युद्धको वातावरणभन्दा फरक रूपमा वार्ताको ढाँचा अघि बढिरहेको’ जानकारी दिएका छन्।
तर वार्ता कुन स्तरमा, कसरी र कति गहिरो रूपमा भइरहेको छ भन्ने विषय अझै खुल्न सकेको छैन। यसले मध्यपूर्व शान्तितर्फ जान्छ कि युद्धतर्फ—विश्व समुदायको चासो केन्द्रित भएको छ।













