पर्सा –
बहुचर्चित लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै गुप्ताले दिएको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको हो।
यसअघि सोही निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीसम्बन्धी ७३ नम्बरको निवेदन परे–नपरेको यकिन गर्न आदेश दिएको थियो। सो आदेशपछि मुद्दा पुनः सुनुवाइका लागि आजको पेसीमा चढाइएको हो।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
अदालतका अनुसार तत्कालीन मन्त्री रहेका बेला गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गरिदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको छ। सोही आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।
यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग मिलेमतो गरी पदको दुरुपयोग गर्दै कार्य सुविधा उपलब्ध गराइदिने नाममा २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि गुप्तामाथि लगाएको छ।
यद्यपि, गुप्ताले अदालतमा बयान दिँदै आफूमाथि लागेको सबै आरोप झुटा र मनगढन्ते भएको दाबी गर्दै आफूले कसैबाट घुस नलिएको बताएका छन्। तर, विशेष अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गर्दै थुनामै राख्ने आदेश दिएको थियो।
अब आजको सुनुवाइपछि गुप्ताको कानुनी यात्रा नयाँ मोडमा जाने कि थुनामै निरन्तरता पाउने भन्ने चासो बढेको छ।














