२०८२ माघ २१ गते, बुधबार २०:३७

वीरगन्जका आरिफ शेखको चमक, विश्वकपअघि नेपालको दमदार सुरुवात—यूएई ७ विकेटले पराजित

पर्सा-

आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो वार्म–अप खेलमै आफ्नो सामर्थ्य देखाएको छ। चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपअघि आत्मविश्वासपूर्ण सुरुवात गरेको हो। यस जितका नायक बने वीरगन्ज महानगरपालिका–मुर्ली निवासी आरिफ शेख, जसले संकटको घडीमा जिम्मेवारीपूर्ण र आक्रामक ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए।

खेलको सुरुवात नेपालका लागि उत्साहजनक रहेन। १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले मात्र ६।५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमायो। ओपनर कुशल भुर्तेल र आशिफ शेख आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रनमा रनआउट भएपछि नेपाल दबाबमा परेको थियो।

त्यसपछि मैदानमा उत्रिएका वीरगन्जका आरिफ शेख र क्रिजमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खेलको लय नै परिवर्तन गरिदिए। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै यूएईका बलरहरूमाथि पूर्ण नियन्त्रण जमाए।

आरिफ शेखले ३७ बलमा दुई छक्का र आठ चौका प्रहार गर्दै अविजित ६१ रन बनाए। उनको ब्याटिङमा धैर्य, आत्मविश्वास र आक्रामकता स्पष्ट देखिन्थ्यो। अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीले पनि ३१ बलमा ५० रन जोड्दै उत्कृष्ट साथ दिए।

नेपालले १७ ओभरमै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १८ बल बाँकी छँदै खेल समाप्त गर्‍यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले ३८ रन र हर्षित कौशिकले ३१ रन जोडे।

नेपालका बलरहरू पनि प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

विश्वकपअघि मध्यक्रमबाट आएको यो परिपक्व प्रदर्शन नेपाली टोलीका लागि सकारात्मक संकेत मानिएको छ। विशेषगरी वीरगन्जका आरिफ शेखको आत्मविश्वासपूर्ण इनिङ्सले न केवल टोलीलाई जित दिलायो, तर पर्सा र वीरगन्जका क्रिकेटप्रेमीलाई गर्व गर्ने अवसरसमेत प्रदान गर्‍यो।

नेपालले अब दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको पहिलो आधिकारिक खेल भने फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ।

पोडकास्ट सुन्नुहोस