२०८२ माघ २१ गते, बुधबार २०:३७

स्वास्थ्य बीमामा संकट चुलिँदै गएपछि प्रधानमन्त्रीको चासो, आज सरोकारवालासँग उच्चस्तरीय बैठक

 काठमाडौं –

देशभर स्वास्थ्य बीमा सेवा प्रभावित हुँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले यस विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्। बीमित नागरिकले उपचार पाउन नसक्ने अवस्था सिर्जना हुन थालेपछि प्रधानमन्त्रीले समस्या समाधानका लागि आज सरोकारवाला पक्षहरूको उच्चस्तरीय बैठक बोलाएकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र प्रमुख अस्पतालका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ।

रकम अभावका कारण सबै बीमित बिरामीले सेवा पाउन नसक्ने अवस्था आएको छ। देशका ठूला–ठूला अस्पतालहरूले नै सूचना निकालेर स्वास्थ्य बीमा सेवा दिन नसक्ने जनाएपछि समस्या सार्वजनिक रूपमा उजागर भएको हो।

यसै सन्दर्भमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाउँदै बीमा अन्तर्गतको सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो। यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य प्रणाली नै दबाबमा परेको छ।

अस्पतालहरूको दबाबपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गर्दै एक आर्थिक वर्षमा बहिरंग ९ओपिडी० सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ। त्यसपछि मात्रै अस्पताल भर्ना, ल्याब परीक्षण तथा आकस्मिक उपचारको सुविधा लागू हुने बताइएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार यो नयाँ व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउनेछ। तर, यस निर्णयले आम नागरिकको उपचार पहुँच झनै सीमित हुने भन्दै आलोचना पनि सुरु भएको छ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले बोलाएको आजको बैठकबाट स्वास्थ्य बीमाको संकट समाधानका लागि ठोस निर्णय आउने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस