२०८२ माघ २१ गते, बुधबार २०:१३

समाजमा पछाडि पारिएकाका लागि काँग्रेसले नै काम गर्छ : नेता द्विवेदी

वीरगन्ज –

संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व अध्यक्ष अजयकुमार द्विवेदीले समाजमा पछाडि पारिएका तथा सीमान्तकृत वर्गको उत्थान र विकास नभएसम्म नेपाल विकसित र समृद्ध हुन नसक्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ ।

स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरका दृष्टिले समाजमा सबैभन्दा पछाडि रहेका दलित, जनजाति तथा पिछडिएका वर्गको विकाससँगै राष्ट्रको समृद्धि गाँसिएको उहाँले बताउनुभयो । त्यसका लागि सर्वप्रथम सीमान्तकृत वर्गको हितमा नीति निर्माण आवश्यक रहेको नेता द्विवेदीको जोड थियो ।

नेपाल दलित संघ पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले दलित अधिकारका लागि नेपाली काँग्रेसले पहिलेदेखि नै निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले बहुमत हासिल गरेपछि पछाडि पारिएका वर्गका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिलकुमार रुङ्गटालाई मतदान गरी काँग्रेसलाई बलियो बनाउन नेता द्विवेदीले सबैमा अपिल गर्नुभयो ।

कार्यक्रममा सहभागी उम्मेदवार रुङ्गटाले समाजमा पछाडि परेका वर्गको उत्थानका क्षेत्रमा काँग्रेस सधैं अग्रसर रहेको र आफू पनि सोही अभियानमा सक्रिय रहेको बताउनुभयो । काँग्रेस बलियो भए दलित अधिकारका क्षेत्रमा अझ प्रभावकारी काम गर्न सकिने उहाँको भनाइ थियो । उहाँले पर्सा निर्वाचन क्षेत्र नं. १ मात्र नभई सबै क्षेत्रमा काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

नेपाल दलित संघ पर्साका अध्यक्ष बुनेल रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी दलित नेताहरूले नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा अरबिन्द गुप्ता, लक्ष्मण हजरा, कृष्ण राम, शर्मा सरभंग, किरण सरकारलगायत वक्ताहरूले दलित समुदायको राजनीतिक सहभागिता अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै उम्मेदवार रुङ्गटाको पक्षमा एकजुट भएर लाग्न आह्वान गरे ।

पोडकास्ट सुन्नुहोस