वीरगन्ज-
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले चुनावी घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । पार्टीले युवा पुस्ताको प्रतिनिधित्व हुने उम्मेदवार अघि सारेसँगै स्थानीयस्तरमा चासो र चर्चा बढेको देखिन्छ ।
बुधबार पर्सागढी नगरपालिका वडा नम्बर–९ को एकटाङ्गा टोलमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार यादवले मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गर्नुभयो । उहाँले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै विकास र समावेशी प्रतिनिधित्वका विषयमा आफ्ना प्रतिबद्धता राख्नुभयो ।
घरदैलोका क्रममा केही स्थानीयवासीहरूले नयाँ पुस्ताका उम्मेदवारलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका थिए भने केहीले अनुभव र निरन्तरताको विषय पनि उठाएका थिए । यस क्रममा मतदाताहरूले उम्मेदवारसँग शिक्षा, रोजगारी, स्वास्थ्य सेवा तथा स्थानीय पूर्वाधार विकासका विषयमा जिज्ञासा राखेका थिए ।
उम्मेदवार यादवले पर्सा–२ क्षेत्रमा अझै विकासका कामहरू बाँकी रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । आफू जनताको सुझाव र आवश्यकताअनुसार नीति निर्माण र पहलमा सक्रिय रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, नेतृ सिता लामा लगायत नेकपा एमालेका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । उम्मेदवार यादवले आगामी दिनहरूमा पनि वडा–वडा र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो ।













