२०८२ माघ २१ गते, बुधबार २०:०८

रास्वपा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई भन्सार एरियाका स्थानीयद्वारा स्वागत

वीरगञ्ज –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तलाई वीरगञ्ज भन्सार एरियाका स्थानीयवासीहरूले स्वागत गरेका छन् ।

रास्वपाले आज भन्सार एरियामा आयोजना गरेको घरदैलो कार्यक्रममा उम्मेदवार पन्तलाई स्थानीयहरूले स्वागत गरेका हुन् । स्वागत कार्यक्रमका क्रममा वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन ल्याई मुलुकलाई सुशासन र समृद्धिको यात्रातर्फ अघि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीयवासीहरू निस्वार्थ रूपमा रास्वपालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

घरदैलो कार्यक्रमअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति एवं पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले पुराना दलका उम्मेदवारहरू मत माग्न आएमा उनीहरूले विगत ३५ वर्षमा के गरे र आगामी दिनमा के गर्ने योजना छ भन्ने प्रश्न गर्न मतदातालाई आग्रह गर्नुभयो । उहाँले फेरि पनि पुराना दलहरूलाई मतदान गरेर जेन–जी आन्दोलनको उपहास नगर्न पनि अनुरोध गर्नुभयो ।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराउनुभयो ।

घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

पोडकास्ट सुन्नुहोस