वीरगञ्ज-
नेपाली काँग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटाले बिहीबार बिहान वीरगञ्जको प्रसौनी बिर्तामा घरदैलो कार्यक्रम गरी स्थानीय मतदातासँग भेटघाट गर्दै रुख छापमा मतदान गर्न आग्रह गर्नुभएको छ।
नेपाली काँग्रेस वीरगञ्ज महानगरपालिका वडा नं. २३ का बुथ सभापति लोकनारायण यादवको अगुवाइमा आयोजित कार्यक्रमअन्तर्गत उम्मेदवार रुङ्गटा प्रसौनी बिर्ताका घर–आँगनमा पुगेर विकास र समृद्धि काँग्रेस नेतृत्वको सरकारले मात्र सुनिश्चित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको भरोसालाई सम्मान गर्दै रुख छापमा मतदान गर्न अपिल गर्नुभयो।
घरदैलोका क्रममा भेटिएका मतदाताहरूले नेपाली काँग्रेसले देशमा लोकतन्त्र स्थापना गरेको स्मरण गर्दै विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन पनि काँग्रेसलाई नै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
घरदैलोपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले प्रसौनी बिर्तामा देखिएका स्वास्थ्य, शिक्षा, सिँचाइ र रोजगारीसम्बन्धी समस्याप्रति आफू गम्भीर रहेको बताउनुभयो। निर्वाचित भएपछि जनताको विश्वासअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले यो चुनाव प्रतिनिधि छान्ने मात्र नभई देशको भविष्य जोगाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो। आकर्षक नारा र भ्रम फैलाउने बहुरूपी उम्मेदवारबाट सावधान रहँदै विकास र समृद्धिलाई केन्द्रमा राखेर मतदान गर्न उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामरूप कुर्मी, संविधानसभा सदस्य एवं पर्साका पूर्व सभापति अजयकुमार द्विवेदी, जिल्ला उपसभापति रामनारायण कुर्मी, स्थानीय नेता धुरुप यादव, मुनिलाल यादव, रामनिवास यादव, सुन्दर यादवलगायत वक्ताहरूले जनताको पक्षमा नीति निर्माण गर्ने एकमात्र शक्ति नेपाली काँग्रेस भएकाले रुख छापमा मतदान गर्न आह्वान गरेका थिए।













