झापा –
झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय सञ्चालन भइरहेको घरमा अज्ञात समूहले तोडफोड गरेको छ। बुधबार राति स्थानीय जयराम अधिकारीको घरलाई लक्षित गरी भएको तोडफोडपछि क्षेत्रको सुरक्षा अवस्थाबारे चासो बढेको छ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घरको माथिल्लो तलामा रास्वपाले एउटा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो भने अन्य कोठामा घरबेटी अधिकारीको परिवार बस्दै आएका थिए।
तोडफोडका क्रममा घरबेटी बस्ने भागको कोठाका झ्यालका सिसा फुटाइएको प्रहरीले जनाएको छ। घटनास्थल झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्दछ, जहाँ रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन्। उनकै निर्वाचन गतिविधिलाई केन्द्रमा राखेर सो स्थानमा सम्पर्क कार्यालय खोलिएको थियो।
तोडफोड कसले र किन गर्यो भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ भने संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको डीएसपी खड्काले जानकारी दिएका छन्।
यस घटनापछि निर्वाचनको माहोलबीच सुरक्षा संवेदनशीलता र राजनीतिक तनावबारे थप प्रश्न उठ्न थालेका छन्।













