२०८२ माघ २३ गते, शुक्रबार ०९:२४

वीरगन्जमा प्रसाईंको सभामा प्रशासनको रोक: ‘कुनै पनि हालतमा कार्यक्रम रोकिँदैन’– आयोजक

वीरगन्ज-

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानले माघ २४ गते वीरगन्जमा आयोजना गर्न लागेको ‘विशाल नागरिक सभा’ लाई जिल्ला प्रशासन कार्यालय पर्साले रोक लगाएको छ। प्रशासनको यस कदमलाई आयोजकले ‘एकतर्फी र अलोकतान्त्रिक’ भन्दै कडा आपत्ति जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियानको पर्सा जिल्ला कार्य समितिले प्रशासनको पछिल्लो निर्णयप्रति आक्रोश व्यक्त गरेको हो।

निर्णय फेरबदलमा प्रशासनको हस्तक्षेप

आयोजकका अनुसार यसअघि कार्यक्रम गर्न अनुमति दिइएको भए पनि सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले अचानक निर्णय परिवर्तन गर्दै सभा रोक्न आदेश जारी गरेका हुन्। प्रशासनको यो कदम नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकारमाथिको ठाडो हस्तक्षेप भएको आयोजकको ठहर छ।

‘सभा स्थगित हुँदैन, प्रसाईं नै आउँछन्’

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कार्य समिति अध्यक्ष रमिता माया गुप्ताले प्रशासनले रोक लगाए पनि माघ २४ गतेको कार्यक्रम कुनै पनि हालतमा स्थगित नहुने घोषणा गरिन्। उनले भनिन्:”यो नागरिकको आवाज दबाउने प्रयास हो। हाम्रो सभा निर्धारित समयमै हुन्छ र यसको नेतृत्व अभियानका संयोजक दुर्गा प्रसाईं स्वयंले गर्नुहुनेछ।”

प्रतिवादको चेतावनी

अध्यक्ष गुप्ताले शान्तिपूर्ण कार्यक्रममा प्रहरी–प्रशासनले अवरोध सिर्जना गरे, दमन गरे वा बल प्रयोग गरे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिइन्। उनले सम्पूर्ण न्यायप्रेमी नागरिकहरूलाई अन्याय र राज्यको निरंकुशता विरुद्ध एकजुट भएर सभामा सहभागी हुन आह्वान गरेकी छिन्।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै रोक लगाएको बुझिए पनि आयोजक पक्ष भने आफ्नो अडानबाट पछि नहट्ने देखिएपछि वीरगञ्जमा सुरक्षा संयन्त्र र अभियानका कार्यकर्ताबीच तनाव बढ्न सक्ने संकेत देखिएको छ।

पोडकास्ट सुन्नुहोस