वीरगन्ज –
वीरगन्ज महानगरपालिका वडा नं. १६ इनर्वामा आजदेखि नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुङ्गटाको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। उम्मेदवार रुङ्गटाले आज एक समारोहका बीच रातो रिबन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटनपछि इनर्वाका मतदातासँग घरदैलोमै भेट्दै उम्मेदवार रुङ्गटाले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ छापमा मतदान गर्न आग्रह गर्नुभयो। घरआँगनमै मत माग्न पुगेका उम्मेदवार रुङ्गटालाई भेट्दै स्थानीयवासीले स्वच्छ, इमान्दार र आस्थाप्रति अडिग रहेका नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने आश्वासन व्यक्त गरेका थिए। विगत दुई चुनावदेखि मत लिएका व्यक्तिले आफ्नो भावनासँग खेलवाड गर्दै पदका लागि पार्टी फेरिरहेकाले यसपटक ‘रुख’ छापमा मतदान गर्ने स्थानीयले बताएका छन्।
नेपाली कांग्रेस वडा नं. १६ का अगुवा कार्यकर्ता तथा समाजसेवी मन्टु भनिने मतलुब रब, मनोज पटेललगायतको अगुवाइमा भएको घरदैलोपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार रुङ्गटाले इनर्वामा भेटिएको माया र स्नेहले आफू थप उर्जावान भएको प्रतिक्रिया दिनुभयो। उहाँले इनर्वाका युवा, वृद्ध तथा महिला दिदीबहिनीहरूले देखाएको उत्साह र ऐक्यबद्धताले यसपटक कांग्रेसको जित पक्का हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी, जिल्लाका कार्यवाहक सभापति रामनारायण कुर्मी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।













