वीरगन्ज-
नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा आज वीरगन्जमा एक भव्य ‘पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न भएको छ। नेकपा एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ठूलो झट्का लागेको छ।
जसपा परित्याग गरी एमाले प्रवेश गर्नेहरूमा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा युवा नेता मुकेश द्विवेदी, वीरगन्ज महानगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार, र वडा नं. ३ का पूर्व वडा सदस्य एवं न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तर लगायतका दर्जनौँ नेता तथा कार्यकर्ताहरू रहेका छन्।
नवागत नेताहरूलाई प्रमुख अतिथि योगेश भट्टराई र पर्सा क्षेत्र नं. २ का उम्मेदवार रिमा कुमारी यादवले टीका र माला लगाई पार्टीमा विधिवत स्वागत गर्नुभएको थियो।
पार्टी प्रवेशपछि बोल्दै युवा नेता मुकेश द्विवेदीले नेकपा एमालेको राष्ट्रिय नीति, स्पष्ट सिद्धान्त र समृद्धिको उद्देश्यबाट प्रभावित भएर आफूहरूले यो निर्णय लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अबको निर्वाचनमा पर्साका चारै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारलाई जिताउन हामी इमान्दारिताका साथ लाग्नेछौँ।”
त्यसैगरी, अन्य नवप्रवेशी नेताहरूले पनि पार्टीको मूल उद्देश्यअनुसार संगठित भएर एमालेको विजय सुनिश्चित गर्नु नै आफूहरूको अबको मुख्य धर्म भएको उल्लेख गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य, पर्सा क्षेत्र नं. २ का इन्चार्ज एवं वीरगञ्ज महानगरका प्रथम नगरप्रमुख विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा एमालेका जिल्ला तथा नगर तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतिनिधि सभा निर्वाचनको संघारमा जसपाका पुराना र बलिया खम्बाहरू एमालेमा प्रवेश गरेपछि पर्साको चुनावी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको विश्लेषण गरिएको छ।













