२०८२ माघ २५ गते, आईतवार १८:५९

विश्वकपमा नेपाललाई ऐतिहासिक अवसर : प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा क्रिकेट टोलीलाई शुभकामना

पर्सा-

आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत आज मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्यान्डविरुद्ध महत्वपूर्ण खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीदेखि शीर्ष राजनीतिक नेतासम्मले शुभकामना व्यक्त गरेका छन्। तेस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको नेपालले ऐतिहासिक उपलब्धि दोहोर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना दिँदै वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यसको स्वर विश्वभर फैलिने विश्वास व्यक्त गरिन्। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ। विगतका ऐतिहासिक सफलताले टोलीको मनोबल उच्च बनाएको र विश्वभर रहेका नेपाली समर्थकहरूको साथ ठूलो प्रेरणा बनेको उनले उल्लेख गरिन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रिकेट नेपालका लागि खेल मात्रै नभई प्रगतिको पहिचान र राष्ट्रिय स्वाभिमानको प्रतीक भएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले खेलाडीहरूको मेहनत र पसिनाको कदर गर्दै आवश्यक पूर्वाधार निर्माणमार्फत सहयोग गर्नुपर्नेमा जोड दिए। मेचीदेखि महाकालीसम्म तथा प्रवासमा रहेका नेपालीहरूको साथ टोलीसँग रहेको उल्लेख गर्दै उनले हीनताबोध त्यागी आत्मविश्वासका साथ मैदान उत्रिन आग्रह गरे। कप्तान रोहित पौडेल नेतृत्वको टोलीले नयाँ कीर्तिमान कायम गरी देशको शिर उच्च बनाउने विश्वास पनि उनले व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शनमार्फत नेपालको झण्डा विश्वभर फहराउने विश्वास व्यक्त गरेका छन्। खेलाडीहरूको अथक परिश्रम, एकता र मातृभूमिप्रतिको समर्पणले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको उल्लेख गर्दै उनले हरेक बल, रन र विकेटमा सिंगो राष्ट्र टोलीसँगै रहने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पनि सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई जितको शुभकामना दिएका छन्। सन् २०१४ को पहिलो विश्वकप सहभागिताको स्मरण गर्दै उनले क्रिकेटमार्फत नेपाललाई विश्वमाझ चिनाउने योगदानको प्रशंसा गरेका छन्। पूर्वकप्तान ज्ञानेन्द्र मल्लको अनुभव र भिजनअनुसार नेपाली क्रिकेटलाई अगाडि बढाइने उल्लेख गर्दै उनले सिंगो देश टोलीको साथमा रहेको बताएका छन्।

आजको खेल नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्ध मैदान उत्रँदै गर्दा सम्पूर्ण देशको ध्यान नेपाली टोलीतर्फ केन्द्रित भएको छ, र विजयी यात्रा सुरु गर्ने अपेक्षा गरिएको छ।

पोडकास्ट सुन्नुहोस