पर्सा-
आईसीसी टी–२० विश्वकपको पहिलो खेलमै नेपालले शक्तिशाली इंग्ल्यान्डलाई रोमाञ्चक प्रतिस्पर्धा दिँदै केवल ४ रनको झिनो अन्तरले पराजय व्यहोरे पनि नेपाली खेलाडीहरूको जुझारु प्रदर्शनले समर्थकको मन जितेको छ।
१८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाउँदै अन्तिम बलसम्म संघर्ष जारी राख्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि जित हात पार्न नसकिए पनि नेपाली टोलीको लडाकु भावना स्पष्ट देखियो।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्साहजनक सुरुआत दिलाएका थिए। भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाउँदै आक्रामक संकेत दिएका थिए। दुवै ओपनर चाँडै आउट भएपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले संयमित र जिम्मेवार ब्याटिङ गर्दै तेस्रो विकेटका लागि महत्वपूर्ण ८२ रनको साझेदारी गरे, जसले केही समय इंग्ल्यान्डलाई दबाबमा राख्यो।
दीपेन्द्रले २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा महत्वपूर्ण व्यक्तिगत उपलब्धि पूरा गरे भने कप्तान रोहितले ३४ बलमा ३९ रनको योगदान दिए। आरिफ शेखले छोटो तर उपयोगी १० रन जोडे। नेपाली ब्याटरहरूको यो संघर्षपूर्ण प्रदर्शनले विश्वस्तरको टोलीविरुद्ध नेपालको क्षमता उजागर गर्यो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। ज्याकब बेथेल (५५) र कप्तान ह्यारी ब्रूक (५३) को अर्धशतक तथा विल ज्याक्सको अविजित ३९ रनले इंग्ल्यान्डलाई प्रतिस्पर्धी योगफलमा पुर्यायो।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए भने डेब्युट खेलाडी शेर मल्लले पहिलो बलमै विकेट लिँदै प्रभावशाली सुरुआत गरे। सन्दीप लामिछानेले पनि महत्वपूर्ण एक विकेट लिएर इंग्लिस ब्याटिङलाई रोक्ने प्रयास गरे।
पराजय भए पनि बलियो टोलीविरुद्ध नेपालले देखाएको आत्मविश्वास, धैर्य र अन्तिम क्षणसम्मको संघर्षले आगामी खेलहरूका लागि ठूलो आशा जगाएको छ। नेपाली खेलाडीहरूको यही समर्पण र जुझारुपनले विश्व क्रिकेटमा नेपालको पहिचान अझ मजबुत बनाउने संकेत दिएको छ।













