२०८२ माघ २६ गते, सोमबार १५:५९

विकास र सुशासन आफ्नो मुख्य लक्ष्य हो : उम्मेदवार अनिल रुङ्गटा

वीरगन्ज-

नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्गटाले आफ्नो उम्मेदवारी विकास र सुशासनका लागि रहेको धारणा व्यक्त गर्नुभएको छ। वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले चुनाव जितेर पैसा कमाउनु आफ्नो उद्देश्य नभई क्षेत्रमा शान्ति, सुरक्षा र विकास गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो।

महिला शिक्षामा पछाडि परेको समग्र मधेसलाई अगाडि बढाउन नेपाली कांग्रेसले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा आफ्नो घोषणापत्रमा समावेश गरेको जानकारी दिँदै उहाँले कांग्रेसका घोषणाहरू नारा मात्र नभई विगतमा प्रमाणित भइसकेकाले सरकार गठन भएको केही महिनाभित्र महिलाका लागि शिक्षा निःशुल्क हुने बताउनुभयो।

वीरगन्जको श्रीपुर वडा सानो भए पनि जनघनत्व बढी भएकाले यहाँ सडक, नाला तथा डुबानका समस्या रहेको उल्लेख गर्दै उहाँले निर्वाचन जितेको केही महिनाभित्र ती समस्या समाधान गर्ने काम सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली कांग्रेसले नागरिकको स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै उहाँले बीचमा अन्य पार्टीको सरकार बनेका कारण केही समस्या देखिए पनि अब कांग्रेस सभापति गगन थापाको नेतृत्वमा बन्ने सरकारले ती समस्याहरू समाधान गर्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्ने, निःशुल्क स्वास्थ्य सेवा र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने बताउनुभयो।

श्रीपुरमा थप बलियो भयो कांग्रेस

वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा नेपाली कांग्रेस थप बलियो बनेको छ। नेपाली कांग्रेसका बुथ सभापति मनोज महतो धानुकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नेता सत्यनारायण महतो र रामआशिष महतो धानुकसहित ८० जनाभन्दा बढीले पार्टी प्रवेश गरेसँगै वडामा कांग्रेसको शक्ति बढेको हो।

श्रीपुरको नुनिया टोल निवासी सत्यनारायण महतोको प्रवेशले वडाको मत कांग्रेसको पक्षमा जाने स्थानीयवासीको विश्वास छ। विभिन्न पार्टी परित्याग गरी युवा तथा महिलाहरू कांग्रेसमा प्रवेश गरेपछि श्रीपुरमा कांग्रेस सबैभन्दा बलियो पार्टीको रूपमा स्थापित भएको नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिनुभयो। उहाँले विगतको स्थानीय तह निर्वाचनमा सत्यनारायण महतो अन्य पार्टीमा रहेकाले कांग्रेस उम्मेदवार झिनो मतान्तरले पराजित हुनुपरेको स्मरण गर्दै अब उहाँ कांग्रेसमा आबद्ध भएपछि वडामा पार्टीको शक्ति दोब्बर बढेको बताउनुभयो।

बुथ सभापति धानुकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदी, महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, दिवेश पन्त, किरण सरकार, क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, पार्टी सभापति अनिल सिंह, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष ढकाललगायत वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस