काठमाडौँ-
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादको आडमा विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास गरिरहेको गम्भीर आरोप लगाएका छन्। उनले यस्तो प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प, स्पष्ट विचार र सुदृढ राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालमा देखावटी स्टन्ट गरेर ‘नयाँ राजनीति’ सम्भव नहुने स्पष्ट पारे। उनका अनुसार सोसियल मिडियामा फन्डा देखाए पनि त्यस्ता शक्तिसँग देश रूपान्तरण गर्ने ठोस योजना र एजेन्डा अभाव छ।
उनले भने, “विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजमको आवरण प्रयोग गर्दै लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोर्याउने भूराजनीतिक चलखेल भइरहेको देखिन्छ। त्यसको प्रतिवादका लागि नयाँ संकल्प, नयाँ समीक्षा र राष्ट्र–जनताको पक्षमा उभिने सशक्त शक्ति आवश्यक छ।”
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीसँगै वास्तविक नयाँ विचार, स्पष्ट एजेन्डा र रूपान्तरणकारी दृष्टि रहेको दाबी दोहोर्याए। गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता उपलब्धि अहिले पनि उत्तिकै सान्दर्भिक र अग्रगामी रहेको उल्लेख गर्दै उनले ती ऐतिहासिक परिवर्तनहरूको नेतृत्व नेकपाले नै गरेको जिकिर गरे।













