वीरगन्ज-
पर्सा क्षेत्र नं. २ को चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवको पक्षमा जनलहर उर्लिएको छ। मंगलबार वीरगन्ज महानगरपालिका वडा नं. १ छपकैयामा आयोजित वडा स्तरीय भेला एक उत्सवमा परिणत भयो, जहाँ सयौँको संख्यामा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरू एमालेमा समाहित भए।
“परिवर्तनको मेरुदण्ड महिला र युवा”
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा यादवले निकै भावनात्मक र तार्किक विचार राख्नुभयो। उहाँले भन्नुभयो, “पर्साको दिगो विकास तब मात्र सम्भव छ, जब यहाँका महिलाहरूले आफ्नो हकको आवाज उठाउँछन् र युवाहरूले समाज निर्माणको साँचो हातमा लिन्छन्। अबको राजनीति केवल भाषणमा होइन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको ठोस कार्यन्वयनमा केन्द्रित हुनुपर्छ।”
यादवले आफू केवल मत माग्न मात्र नभई यो क्षेत्रको अवस्था बदल्न चुनावी मैदानमा आएको बताउँदै आगामी फागुन २१ गते सूर्य चिह्नमा मतदान गरी विकासको नयाँ युग सुरु गर्न अपिल गर्नुभयो।
एमालेमा प्रवेशको लहर
कार्यक्रमको मुख्य आकर्षण पार्टी प्रवेश पनि रह्यो। नेकपा एमालेको नीति र उम्मेदवार रिमा यादवको स्पष्ट भिजनबाट प्रभावित भई विभिन्न दलका सयौँ नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी एमालेको झन्डा थामेका छन्। नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव र उम्मेदवार रिमा यादवले माला र अबिर लगाएर पार्टीमा न्यानो स्वागत गर्नुभयो।
नवप्रवेशीहरूले भने— “रिमा यादवको स्पष्ट योजना र महिला-युवा सशक्तिकरणप्रतिको लगाव देखेपछि हामीलाई महसुस भयो कि हाम्रो क्षेत्रको भविष्य एमालेको हातमा सुरक्षित छ।”
नेताहरूको ऐक्यवद्धता
कार्यक्रममा केन्द्रीय सदस्य विजय सरावगीले अबको विकास ‘एमाले मोडेल’मा हुने दाबी गर्नुभयो भने समानुपातिक उम्मेदवार बिचारी यादव र युवा नेता मुकेश द्विवेदीले रिमा यादवको जीत पर्साको समग्र पहिचानको जित हुने बताउनुभयो।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अलीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा स्थानीयहरूको बाक्लो उपस्थिति थियो। छपकैयाको यो उत्साहले आगामी फागुन २१ गते हुने निर्वाचनमा रिमा यादवको पक्षमा सुखद परिणाम आउने संकेत स्पष्ट दिएको छ।














