वीरगन्ज-
सडकमा कष्टकर जीवन बिताउन बाध्य बेवारिसे तथा असहायहरूको सारथि बन्दै आएको मानवसेवा आश्रम,वीरगन्ज शाखाले पर्साको ठोरीबाट एक व्यक्तिको उद्धार गरेको छ।
मंगलबार दिउँसो २:३० बजे ठोरी गाउँपालिका वडा नं. ५, सुवर्णपुर चोकमा अलपत्र अवस्थामा रहेका अन्दाजी ३० वर्षीय एक पुरुषलाई आश्रमको टोलीले उद्धार गरेको हो। उद्धार गरिएका व्यक्तिको मानसिक अवस्था कमजोर रहेको र उनले आफ्नो नाम, थर तथा ठेगाना स्पष्टसँग बताउन सकेका छैनन्।
उद्धारमा स्थानीय तह र प्रहरीको समन्वय उद्धार कार्यक्रममा ठोरी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मी, मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर र अभिभावक प्रकाश थारुको सक्रिय उपस्थिति रहेको थियो।
अबको उपचार र संरक्षण उद्धार गरिएका युवालाई आश्रममा ल्याइएपछि सरसफाइ तथा नुहाइ-धुवाइ गरी नयाँ कपडा लगाइदिएर आश्रय दिइएको छ। आश्रमका अनुसार अब ती व्यक्तिको डा. भरत गोइको विशेष निगरानीमा मानसिक तथा शारीरिक स्वास्थ्य परीक्षण र औषधि उपचार प्रक्रिया सुरु गरिनेछ।
मानवसेवा आश्रमले लामो समयदेखि सडकमा रहेका मनोरोगी, असहाय र बेवारिसे व्यक्तिहरूको उद्धार गरी उनीहरूको पालनपोषण, उपचार र पारिवारिक पुनर्मिलन गराउँदै आएको छ। सुवर्णपुर चोकबाट भएको यो उद्धारले स्थानीय स्तरमा आश्रमको मानवीय कार्यको उच्च प्रशंसा भइरहेको छ।













