२०८२ माघ २८ गते, बुधबार १४:४८

सुखचैनामा रास्वपाको घरदैलो: हरि पन्तको सक्रियता बढ्दै, बालेनको आगमनको चर्चाले माहोल तातियो

वीरगन्ज-

 निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तले आफ्नो घरदैलो अभियानलाई निकै तीव्र बनाउनुभएको छ। यसै क्रममा पन्तले आज वीरगन्जको सुखचैनामा स्थानीय मतदाताहरूसँग भेटघाट तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गर्नुभएको छ।

सुखचैनामा उत्साहजनक जनलहर घरदैलोका क्रममा सुखचैनाका बासिन्दाहरूले उम्मेदवार पन्तलाई भव्य स्वागत गर्दै उत्साहजनक समर्थन जनाएका छन्। मतदाताहरूसँगको साक्षात्कारमा पन्तले सुशासन, भ्रष्टाचार नियन्त्रण र वीरगन्जको समग्र विकासका लागि रास्वपाको ‘घण्टी’ मा मतदान गर्न आग्रह गर्नुभयो। “जनताले अब विकल्प खोजिरहेका छन्, र त्यो विकल्प घण्टी नै हो,” पन्तले भन्नुभयो। उहाँले आगामी दिनमा क्षेत्रका सबै वडा र बस्तीमा पुगेर जनताको राय बुझ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

बालेन शाहको आगमनको चर्चाले तरंग यसैबीच, वीरगन्जको राजनीतिक माहोलमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहको सम्भावित आगमनले थप हलचल पैदा गरेको छ। बालेन शाह वीरगन्ज आउने तयारीमा रहेको र त्यसको समय नजिकिँदै गएको चर्चासँगै स्थानीय युवाहरू र रास्वपा समर्थकहरूमा ठूलो उत्साह देखिएको छ। बालेनको आगमनले पर्साको चुनावी समीकरणमा नयाँ मोड ल्याउन सक्ने भन्दै राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्।

हरि पन्तको घरदैलोमा देखिएको जनसहभागिता र बालेन शाहको आगमनको चर्चाले पर्सा क्षेत्र नम्बर १ को चुनावी प्रतिष्पर्धा निकै चासोपूर्ण र रोमाञ्चक मोडमा पुगेको स्थानीय विश्लेषकहरू बताउँछन्।

पोडकास्ट सुन्नुहोस