२०८२ माघ २८ गते, बुधबार १३:१५

उम्मेदवार रुङ्गटाको पक्षमा जनसमर्थन बढ्दैः उपसभापति कुर्मी

वीरगन्ज-
आम मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न नेपाली कांग्रेस पर्सा क्षेत्र नंं. १ का उम्मेदवार अनिल रुङ्गटाले चुनाव प्रचारलाई तीव्र बनाएका छन्। कांग्रेसको चुनाव चिन्ह रुखमा जनआकर्षण सिर्जना गर्न उनले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न पार्टी परित्याग गरेका युवाहरूलाई कांग्रेसमा प्रवेश गराउँदै जनसमर्थन बलियो बनाउने अभियानलाई तीव्रता दिएका छन्।

यसै क्रममा आज वीरगन्ज महानगरपालिका वडा नं. १५ भिस्वाका मतदाताहरूको घरआँगनमै पुगेर उम्मेदवार रुङ्गटाले रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय भद्रभलादमीहरूको ठूलो समूहसहित घरदैलोमा निस्किएका उनले आफ्नो भावी योजना तथा नेपाली कांग्रेसले जनताको पक्षमा गरेका कामबारे सर्वसाधारणलाई जानकारी गराउँदै समर्थन जुटाउने अभियान अगाडि बढाएका छन्।

पढाइ र उपचारलाई निःशुल्क बनाउने योजना, सुशासन र समृद्धिका कार्यक्रमलगायत विषयबारे जानकारी दिँदै उनले आम मतदातालाई रुख चिन्हमा मतदान गर्न अपिल गरेका छन्।

कार्यक्रममा सहभागी नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जनता कांग्रेसको पक्षमा रहेको दाबी गरे। उनका अनुसार स्वच्छ छवि र शिक्षित व्यक्तित्व भएका उम्मेदवार रुङ्गटामाथि आम मतदाताको ठूलो विश्वास छ। पर्सा क्षेत्र नं। १ मा अन्य दलहरूले छवि कमजोर भएका व्यक्तिलाई उम्मेदवार बनाएकाले मतदाताको भरोसा कांग्रेसतर्फ बढेको उनले बताए। कांग्रेस जनताको पक्षमा काम गर्ने पार्टी भएकाले जनतामा उत्साह देखिएको पनि उनको भनाइ थियो।

भिस्वाका बुथ सभापति राजमंगल कापरको अगुवाइमा आयोजित कार्यक्रममा स्थानीय भद्रभलादमी, कांग्रेस पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, किरण सरकार, रामनिवास यादव, शेष हजारलगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस