वीरगन्ज-
“महिला भनेका घरको चुलो–चौकामा मात्र सीमित हुने शक्ति होइनन्, अवसर पाए उनीहरूले देशकै नेतृत्व गर्न सक्छन्,” नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले बुधबार कुहडीमा आयोजित भेलालाई सम्बोधन गर्दै गर्दा उपस्थित सयौँ महिलाहरूले ताली बजाएर समर्थन जनाए।
मधेसी महिलाको नयाँ उर्जा वीरगन्ज महानगरपालिका–२७ कुहडीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यादवले मधेसको सामाजिक संरचनामा महिलाको भूमिका बदल्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अब समय फेरिएको छ। महिलाहरूलाई सिलाई, कढाई र मस्यौरा बनाउने जस्ता घरेलु तालिम दिएर म उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन चाहन्छु। जबसम्म महिलाको हातमा पैसा हुँदैन, तबसम्म समाजमा उनीहरूको सम्मान सुरक्षित हुँदैन।”
स्वास्थ्य र शिक्षामा क्रान्तिको सङ्कल्प आफ्नो चुनावी एजेन्डा स्पष्ट पार्दै उम्मेदवार यादवले हरेक स्वास्थ्य चौकीमा कम्तीमा एक जना एमबिबिएस डाक्टर र सुलभ औषधिको उपलब्धता सुनिश्चित गर्ने संकल्प दोहोर्याउनुभयो। उहाँले प्राविधिक शिक्षालाई गाउँ-गाउँसम्म पुर्याएर युवाहरूलाई स्वदेशमै रोजगारी दिने योजना प्रस्तुत गर्नुभयो।
रास्वपा नेतासहित सयौँको एमाले प्रवेश: चुनावी समीकरणमा फेरबदल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा नं. २७ का वरिष्ठ नेता एवं पूर्व वडा अध्यक्ष बुनी प्रसाद यादवसहित नेपाली कांग्रेस र जसपा नेपालका सयौँ नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। रिमा यादवको सरल स्वभाव र विकासप्रेमी सोचबाट प्रभावित भई आफूहरू एमालेमा समाहित भएको नवप्रवेशीहरूले बताए। उनीहरूलाई केन्द्रीय सदस्य विजय सरावगी र उपाध्यक्ष विचारी यादवले माला लगाएर स्वागत गर्नुभयो।
इतिहास रच्ने बेला आयो: विजय सरावगी कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व मेयर विजय सरावगीले फागुन २१ गते पर्सा–२ ले इतिहास रच्ने बताउनुभयो। उहाँले भन्नुभयो, “एमालेले एक शिक्षित र जुझारु युवा उम्मेदवार दिएको छ, अब मतदाताले यसलाई अवसरको रूपमा लिनुपर्छ।”
प्रमोद साह तेलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संखुवा प्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, युवा नेता मुकेश द्विवेदी, वडा अध्यक्षहरू सन्जु छतकुली र विजय कुर्मी लगायतले रिमा यादवको पक्षमा उर्लिएको यो जनलहर नै विजयको सुनिश्चितता भएको दाबी गरे।











