२०८२ फाल्गुन ६ गते, बुधबार १९:१३

बंगलादेशी जनादेशले नेपालमा उत्पान्न गरेको बहस

वीरगन्ज-

बंगलादेशमा सम्पन्न पछिल्लो आमनिर्वाचनले दक्षिण एसियाली राजनीतिमा महत्वपूर्ण सन्देश दिएको छ। नयाँ पुस्ताको ऊर्जा र आन्दोलनबाट उदाएको शक्ति पराजित हुँदै अनुभवी राजनीतिक दल सत्तामा फर्कनु केवल बंगलादेशको घटना होइन, यो लोकतान्त्रिक समाजमा जनमत कसरी निर्माण हुन्छ भन्ने गहिरो संकेत पनि हो । यही सन्देश अहिले नेपालको राजनीतिक सन्दर्भमा झन् अर्थपूर्ण देखिन्छ ।

बंगलादेशमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को स्पष्ट बहुमतसहितको विजय र नेसनल सिटिजन पार्टी (एनसीपी) को अप्रत्याशित हारले मतदाताले केवल परिवर्तनको नाराभन्दा स्थायित्व, अनुभव र कार्यान्वयन क्षमतालाई प्राथमिकता दिएको देखायो । पार्टी अध्यक्ष तारिक रहमान को उदयसँगै बंगलादेशी जनताले राजनीतिक स्थिरता खोजेको सन्देश स्पष्ट भएको छ ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा युवामुखी राजनीति, वैकल्पिक शक्तिको उदय र परम्परागत दलप्रतिको असन्तुष्टि तीव्र रूपमा देखिएको छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी को उदयले नेपाली राजनीतिमा नयाँ बहस सुरु ग¥यो, पुराना दलको विकल्प सम्भव छ कि छैन भन्ने । तर बंगलादेशको परिणामले देखाएझैँ केवल नयाँ हुनु नै पर्याप्त हुँदैन , जनतालाई विश्वास दिलाउने संरचना, नीतिगत स्पष्टता र शासन सञ्चालनको क्षमता अझ निर्णायक बन्ने रहेछ ।

बंगलादेशमा सन् २०२४ को आन्दोलनपछि शेख हसिना सत्ताच्युत हुनु र त्यसपछि मोहोम्मद युनुस नेतृत्वको अन्तरिम व्यवस्थामार्फत निर्वाचन हुनु परिवर्तनको चरम अवस्था थियो। नेपालमा त्यस्तो प्रत्यक्ष सत्ता परिवर्तन नभए पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तनको चक्र र जनअसन्तुष्टि भने निरन्तर देखिँदै आएको छ । त्यसै कारणे बंगलादेशी जनादेश नेपालका मतदाताका लागि चेतावनी र मार्गदर्शन दुवै बन्न सक्छ ।

नेपाली राजनीतिमा अहिले दुई धार स्पष्ट देखिन्छ ,एकातिर परम्परागत दलहरू, जसले अनुभव र संगठनात्मक शक्ति बोकेका छन भने अर्कोतिर नयाँ शक्तिहरू, जसले सुशासन, पारदर्शिता र युवाको प्रतिनिधित्वको मुद्दा उठाएका छन् । बंगलादेशको उदाहरणले देखाउँछ कि यी दुईमध्ये जसले परिवर्तन र स्थायित्वलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सक्छ, अन्त्मा जनमत उसैको पक्षमा जान्छन ।

अन्ततः बंगलादेशी जनादेशले लोकतन्त्रको मूल सत्य पुनः पुष्टि गरेको छ । जनता परिवर्तन चाहन्छन्, तर अनिश्चितता होइन । नयाँ अनुहार चाहन्छन्, तर भरोसासहित , यही परीक्षा अब नेपाली राजनीतिले पनि दिनुपर्ने समय आएको जानकारहरु बताउछन् । समाजि संजालले देखिएको लोकप्रीयता मतमा रुपान्तरित हुन्छ की हुदैन ? के संगठन र भरोसाले मतदातालाई आक्रसित गर्छ ? यो प्रश्न समयको गर्भमा भएपनि नयाँ भनाउदा शक्तिहरुको घटदो लोकप्रीयताले बंगलादेशको कथा कतै नेपालीमा दोहरीने होकि संकेत देखापर्नथालेको छ ।

पोडकास्ट सुन्नुहोस